बुटवल : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा पैसावाला प्रवृत्ति हावी हुँदै गएकोले यसलाई रोक्नुपर्ने बताएका छन्। पैसावालाले मात्रै चुनाव जित्ने भनेर टिकट दिने प्रवृत्तिलाई फेर्नुपर्ने महासचिव पोखरेलले बताए।
एमाले लुम्बिनी प्रदेशको मिसन ग्रासरूट समीक्षा बैठकलाई बिहीवार बुटवलमा सम्बोधन गर्दै पोखरेलले भने, ‘चुनाव पैसा भएको उम्मेदवार भन्दा चुनाव नीतिगत रूपमा बुझन जरूरी छ।’
पूर्व मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले अब आउँदो निर्वाचनमा एमालेले बहुमतको सरकार बन्ने गरी अगाडि बढ्न आवश्यक रहेको समेत बताए।
‘बहुमतको सरकार बनाउन जनमत वृद्वि गर्ने महत्वपूर्ण हो’, महासचिव पोखरेलले भने, ‘चुनाव पार्टीको विषय बन्नुपर्छ। पार्टीले उसको अभियान लाई नेतृत्व गर्नुपर्छ। बलियो राष्ट्रिय शक्तिको नेतृत्व अब एमालेले मात्र गर्न सक्ने पोखरेलले दावी गरे।’
पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबिच कुनै मतभेद नभएको दाबी गरेका छन्। पौडेल र पोखरेलबिच पार्टीमा को अगाडि जाने भन्ने प्रतिष्ठाको लडाइँ भएको चर्चा भइरहेको बेला महासचिव पोखरेलले आफूहरूबिच पार्टीका हरेक काम सहमतिमै हुने गरेको स्पष्ट पारे।
‘हरेक कुरामा विष्णुप्रसाद पौडेल र मैले सल्लाह गरेर, निर्णय गर्नुअघि कैयौंपटक अनौपचारिक समेत छलफल गरेर टुंगोमा पुग्ने गरेका छौं। आपसमा कुनै मतभेद छैन। तर, कतिपयले तानातान छ भनेर हल्ला गरिदिन्छन्,’ उनले भने।
जनताले पुराना पार्टीको विकल्प खोजेको विषयमा विश्लेषण खोज्दै अगाडि बढ्नुपर्ने बताउँदै पोखरेलले राजनीतिक अस्थिरता सिर्जना गर्न र बलिया र पुराना राजनीतिक दललाई कमजोर बनाउने खेल भइहेको दाबी समेत गरे।
‘जनताको सरोकारमा हाम्रो ध्यान जान जरुरी छ जनतासँगको सम्बन्ध टुट्न दिनु हुँदैन। जनमत वृद्धिका लागि जनप्रतिनिधिहरुलाई सफल बनाउनुपर्छ’, उनले भने।
पार्टी नीतिगत, राजनीतिक र सांगठनिक हिसाबले एक रहेको बताउँदै सार्वजनिक रूपमा जनप्रतिनिधिको टिप्पणी गर्नु आवश्यक नरहेको पोखरेलको भनाइ छ।