काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत बिहीवार सम्पन्न खेलमा मलेशिया र बहराइन विजयी भएका छन्।
मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेशियाले साउदीमाथि ८ विकेटको जित निकाल्यो।
टस हारेर ब्याटिङमा उत्रिएको साउदी ४६.२ ओभरमा १५३ रनमा अलआउट भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेशियालाई २ विकेट गुमाएर २१.२ ओभरमा लक्ष्य पुरा गर्यो।
साउदीका लागि हसिब गाफोरले सर्वाधिक ४० रन बनाउँदा ओपनर अब्दुल वाहिदेल ३६ रन बनाए। त्यस्तै कप्तान हिसम शेखले २१ रन बनाउँदा इस्तिआक अहमेदले १८ रन बनाए।
बलिङतर्फ मलेशियाका खिजार हायतले सर्वाधिक ३ विकेट लिँदा मोहम्मद वाफिक र रिजवान हइखरले समान २ विकेट तथा वीरनदीप सिंहले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मलेशियालाई निर्धारित लक्ष्य पछ्याउन कठिन भएन। पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेका ओपनरद्वय मोहम्मद अमिर र विरनदीप सिंहले अर्धशतकीय इन्निङ्स् खेले। अमिरले ५६ रन बनाउँदा सिंहले ५१ रन बनाए। त्यस्तै सइद अजिज ३४ र मोहम्मद स्याहदतले ४ रन बनाएर अविजित रहे। बलिङतर्फ साउदीका जैन उल अबिदिनले २ विकट लिए।
कीर्तिपुरमा बहराइनको जित
बिहीवार नै कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनले सिंगापुरलाई १ सय ३२ रनले हरायो।
टस जितेर ब्याटिङमा उत्रिएको बहराइनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४३.१ ओभरमा १५४ रनमा समेटियो।
बहराइनका लागि फइद अहमेदले ७९ रन बनाउँदा सहबाज बदरले ७६ रन बनाए। त्यस्तै सोइल अहमदले ४६ रन बनाउँदा कप्तान हैदर बटले २९ तथा मोहम्मद युनिसले २३ रन बनाए। बलिङतर्फ सिंगापुरका रमेश कालीमुथु, थिलिपन ओमैदुरै र विनोथ वसकरणले समान २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ५१ रन बनाउँदा विनोथ वसकरणले २३ तथा थिलिप्पन ओमाइदुराइले २१ रन बनाए। सिंगापुरलाई लक्ष्यसम्म पुग्न नदिन बहराइनका इमरान अनवरले सर्वाधिक ४ विकेट लिँदा रिजवान बटले ३, अब्दुल मजिदले २ तथा अलि दाउदले १ विकेट लिए।
अंकतालिका
जितसँगै समूह 'ए' मा समान २ अंक जोडेका नेपाल, मलेशिया र ओमन तालिकाको शीर्ष तीनमा छन्। कतार र साउदी अरेबियाले अंक जोड्न सकेका छैनन्।
त्यस्तै समुह 'बी' मा समान २ अंक जोडेका यूएई, बहराइन र हङकङ तालिकाको शीर्षतीनमा छन्। सिंगापुर र कुवेतले अंक जोड्न सकेका छैनन्।