PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

थ्री स्टार दोस्रो स्थानमा उक्लियो, पेनाल्टीमा चुक्दा हिमालयन शेर्पा पराजित

थ्री स्टार दोस्रो स्थानमा उक्लियो, पेनाल्टीमा चुक्दा हिमालयन शेर्पा पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीवार सम्पन्न पहिलो खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्रीस्टारले शेर्पामाथि १-० गोलको कठिन जित निकालेको हो।

खेलको १४औँ मिनेटमा लाकेन लिम्बूको गोलमा थ्री स्टारले अग्रता बनाएको थियो। ३४औँ मिनेटमा थ्री स्टारका आदित्य शाक्यले गोलको राम्रो अवसर बनाए पनि गोल भने गर्न सकेनन्। उनले बक्सबाहिरबाट गरेको राम्रो प्रहार शेर्पाका गोलकिपर किशोर गिरीले उत्कृष्ट बचाउ गरेका थिए।

दोस्रो हाफको पहिलो मिनेटमै थ्रीस्टारका पिटर सेगुनले पेनाल्टी क्षेत्रभित्र अबयोमी ओलुवासेउनलाई फाउल गरेपछि हिमालयन शेर्पाले पेनाल्टीको अवसर पाएको थियो। तर, शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोलपोस्ट भन्दा धेरै माथि प्रहार गर्दै गोल गर्नबाट चुके।

खेलको ८३औँ मिनेटमा पनि शेर्पाको खेलाडीले ह्याण्डबल भएको भन्दै पेनाल्टीको दाबि गरे पनि रेफ्री प्रकाशनाथ श्रेष्ठले मान्यता दिएनन्। ८४औँ मिनेटमा पिटर सेगुनले सेन्टरबाट बल अघिबढाउँदै पेनाल्टी बक्स बाहिरबाट राम्रो प्रहार गरे पनि शेर्पाका गोलकिपर गिरीले उनको प्रहारलाई विफल बनाइदिए।

जितसँगै १० खेलबाट १८ अंक जोडेको थ्री स्टार अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा समान खेल खेलेको जावलाखेल २० अंक जोडेर रहेको छ। हिमालयन शेर्पा भने तालिकाको १३औँ स्थानमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell