इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ। दिल्ली स्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले कोलकत्तामाथि ४ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङमा गरेको कोलकत्ताले ओपनर जेसन रोयले ४३ रन बनाउँदा आन्द्रे रसेलले अविजित ३८ रन बनाए। त्यस्तै मन्दीप सिंहले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत छुन सकेनन्। बलिङतर्फ इशान्त शर्मा, एनरिच नोर्किया, अक्षर पटेल र कुलदीप यादवले समान २ विकेट लिँदा मुकेश कुमारले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि ओपनर डेभिड वार्नरले ५७ रन बनाउँदै राम्रो सुरुवात दिलाए पनि शीर्ष क्रममा त्यसपछिका ब्याट्सम्यानले भने लय समात्न संघर्ष गरे। मध्यक्रमका मनिष पाण्डले २१ तथा अक्षर पटेलले अविजित १९ रन बनाउँदा १ सय २८ रनको सामान्य लक्ष्य पछ्याउन दिल्ली ६ विकेट गुमाएर सक्षम भयो। कोलकत्ताका वरुण चक्रवर्ती, अनुकुल रोय र नितिश रानाले समान २ विकेट लिए।
आईपीएलको जारी सिजन दिल्लीको यो पहलो जित हो। यसअघिका पाँच खेलमा दिल्ली पराजित भएको थियो। कोलकत्ताले भने २ खेल जितेर ४ अंक जोडेको छ। शीर्ष स्थानमा ८ अंक जोडेको राजस्थान छ।