PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘प्रसाद २’ निर्देशक थापालाई प्रश्न : कलाकारलाई बेखुसी पारेर बनाएको फिल्मको स्वाद फिक्का हुने डर छैन? (अन्तर्वार्ता)



लक्ष्मी बलायर

‘प्रसाद २’ निर्देशक थापालाई प्रश्न : कलाकारलाई बेखुसी पारेर बनाएको फिल्मको स्वाद फिक्का हुने डर छैन? (अन्तर्वार्ता)

काठमाडौं : ‘मेरो एउटा साथी छ’बाट निर्देशनमा डेब्यू गरेका हुन् सुदर्शन थापाले। डेब्यू फिल्म नै हिट भएपछि उनले कहिल्यै फर्केर हेर्नुपरेन। ‘अझै पनि’मा मुख्य अभिनेताको रुपमा काम गरेपनि दर्शकले रुचाएनन्।

बरु लभस्टोरी जनराको फिल्ममार्फत दर्शकहरुमाझ परिचित छन् उनी। उनी निर्देशित ‘मधुमास’, ‘प्रेमगीत’, ‘रामकहानी’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ फिल्महरु चर्चित छन। यसपटक भने थापाले सोसल ड्रामा जनराको ‘प्रसाद २’मा काम गरेका छन्। तिनै ‘प्रसाद २’ निर्देशक सुदर्शन थापासँग पहिलोपोस्टकर्मी लक्ष्मी बलायरले गरेको कुराकानी :

लामो विवाद टुंगो लागेसँगै अन्तत: फिल्म ‘प्रसाद २’ बैशाख १५ गतेबाट रिलिज हुँदैछ, उत्साह र डर कत्तिको छ?
केही समय फिल्ममा आएको झमेलाले डिस्टर्ब भएँ। अन्तत: सबै विवाद सकिएर फिल्म रिलिज हुने टुंगो लाग्दा निकै उत्साहित छु। काम गर्ने मान्छेको लागि हरेक प्रोजेक्ट नयाँ नै हुन्छ। मैले पनि ‘प्रसाद २’लाई त्यसरी नै लिएको छु।

जति नै फिल्म गरेपनि वा अनुभव भएपनि रिलिज हुने चाहिँ पहिलोजस्तै नै लाग्छ। त्यसमाथि ‘प्रसाद २’को विषयवस्तु नयाँ छ। नयाँ फिल्म हुँदा कौतुहलताका साथै के होला? भन्ने डर पनि हुन्छ।

अनि फिल्ममा कसरी र किन जोडिनुभयो?
लेखक सुशील पौडेलमार्फत म फिल्म टिमसँग जोडिएको हुँ। २/३ वर्ष अगाडि नै उहाँले अफर गर्नुभएको थियो तर, भ्याइनँ। कोराना महामारी कम भएपछि फेरि प्रस्ताव आयो। स्टोरीको एक लाइन सुन्दा नै कथा मन पर्‍यो।

अर्को कारण विपिन कार्की पनि हो। किनकी पहिल्यैदेखि उहाँसँग मलाई काम गर्ने इच्छा थियो। उहाँ राम्रो र मेहनती कलाकार भनेर सुनिरहेको। पर्दामा हेर्दापनि अभिनयले मन जितेको। विपिनसँग कुनै समय सहकार्य गर्छु भन्ने थियो।

ल्वाङ गाउँमा भएको विवाद फिल्म चर्चामा ल्याउने स्टन्ट थियो कि साँच्चै?
‘प्रसाद २’मा हात हालेदेखि विवाद मात्रै छ। तर, मैले विवादको बारेमा केही बोलेको पनि छैन। किनकी मलाई फिल्म राम्रो बनाउनेसँग मात्रै मतलब छ।

विपिनसँगको विवादको विषयमा पनि मैले केही भनेको छैन। यदि विपिनजीले भन्नुभएको छ भने उहाँलाई केही चित्त नबुझेर भनेको हुनसक्छ। किनकी त्यतिखेरको अवस्था नै त्यस्तै थियो। र, वनावटी कुराहरु धेरै आए।

सट-डिभिजनको कुरा वाइयात हो। किनकी सट-डिभिजन कलाकारको कुरै होइन। निर्देशक र डीओपीको कुरा हो। त्यो घटनामा विपिनसँग केही भएको भए २९ दिनसम्म कसरी सुटिङ सहज भयो? मैले विपिनसँग रहरले काम गरेको हो। फिल्ममा विपिन नै चेन्ज भएको भए म काम गर्दिनँ थिए होला।

लभस्टोरी जनरामा जमिसकेको निर्देशक सोसल ड्रामातिर आउनुको कारण के?
धेरैले तपाई लबस्टोरी जनराको राम्रो निर्देशक भनेर भन्नुहुन्छ। लभस्टोरी जनराभन्दा फरक फिल्म बनाउन नहुने होकी भन्ने आफैँलाई प्रश्न गर्न मन लाग्छ। तर, म हरेक विषयवस्तुमा सिनेमा बनाउन चाहन्छु।

निर्देशकलाई कुनै विषयवस्तुमाथि फिल्म बनाउनुपर्छ जस्तो लाग्छ भने हरेक जनराको सिनेमा बनाउन सकिन्छ। सोसल ड्रामाको फिल्म बनाउँदा वरपरका घटनाक्रम र कथावस्तुलाई देखाउन हरकोहीलाई मन हुन्छ। यति हो त्यो समाजको विषयवस्तुले निर्देशकलाई छुन्छ कि छुँदैन।

दुइटा जनराबिच विषयवस्तु फरक भएपनि सिनेमा मेकिङ चाहिँ खासै फरक हुँदैन। जुन जनरा भएपनि त्यहाँ म चाहिँ हुनुपर्छ। मेरो कथालाई दर्शकले सजिल्यै बुझेर सहज तरिकाले ग्रहण गरुन् भन्ने निर्देशकले सोच्नुपर्छ।

‘प्रसाद २’ साँच्चिकै सिक्वेल हो कि, पैसा कमाउन नामको पछाडि अंक मात्रै थपिएको हो?
पक्कै पनि अहिले सिक्वेलको ट्रेन्ड बढ्दो छ। पहिलो फिल्म हिट भएपछि दर्शकमा त्यस नामप्रति बढी विश्वास हुन्छ भनेर सिक्वेल बनाउने गरिन्छ। जसकारण फरक कथा भएपनि हिट फिल्मको नामको पछाडि अंक थपिन्छ।

तर, यस फिल्ममा राख्नकै लागि २ राखिएको होइन। यो पूर्णतया ‘प्रसाद’को सिक्वेल हो। किनकी प्रसादको कथा जहाँबाट अन्त्य भएको थियो त्यहीबाट नै ‘प्रसाद २’ को कथा सुरु हुन्छ। व्यापारको हिसाब भन्दा पनि घटना र पात्रहरु निरन्तरताको लागि यो सिक्वेल बनाइएको हो। 

‘प्रसाद’भन्दा ‘प्रसाद २’मा के फरक छ?
मैले दुवै फिल्ममा तुलना गर्न मिल्दैन। ‘प्रसाद’ सुन्दर फिल्म थियो। त्यसको सिक्वेललाई हामीले झनै सुन्दर बनाउने कोशिस गरेका छौँ। ‘प्रसाद’को सिक्वेलभन्दा पनि मैले एउटा नयाँ सिनेमा बनाउँदैछु भनेर काम गरेको छु। त्योभन्दा राम्रो बनाउन्छु भन्ने चक्करमा फिल्म बनाउँदा सिनेमाप्रति अन्याय हुन्छ। 

कलाकारहरुको सेटै चेन्ज गरि बनाइएको सिक्वेलबाट दर्शकले के आश गर्ने?
स्वभाविकै हो कलाकार परिवर्तन हुँदा पहिले यो थियो भन्ने एकछिन हुनसक्छ। तर, पछि त्यही उपस्थित पात्रले नै दर्शकको मन जित्दै जानेछ। किनकी ‘प्रसाद’का पात्र परिवर्तन गरिएको होइन, केवल कलाकार चेन्ज भएका हुन। त्यसैले कलाकार चेन्ज हुँदा दर्शकले आश नगर्ने भन्ने हुँदैन।

सिक्वेलमा नयाँ कलाकारसँग काम गर्दा सुरुमा अर्कै फिल्ममा काम गरेजस्तो लाग्यो। तर, जुन लाग्न जरुरी पनि थियो। किनकी मलाई ‘प्रसाद’को ह्याङआउट उत्राएर फ्रेसनेस चाहिएको थियो।

‘प्रसाद’मा जुन घटना घट्यो, मोड आयो। त्यहाबाट ती पात्रहरुले जीवन जिउनको लागि गाउँमा गएर गर्ने पारिवारिक, सामाजिक र राजनीतिक संघर्षसँग फिल्मको कथा जोडिएको छ। जसलाई दर्शकले मन पराउनुहुन्छ भन्ने विश्वास छ।

अभिनयमा नामुद कलाकारहरुको टिमसँग काम गर्दा कस्तो अनुभव पाउनु भयो?
राम्रा कलाकारसँग काम गर्दा बडो मजा आउँदो रहेछ। राम्रो कलाकार र चलचित्र बुझेका मान्छेसँग काम गर्न सहज हुनुका साथै छिटो पनि हुदो रहेछ। उहाँहरुलाई एकचोटी बुझाउँदा निर्देशकले के चाहेको भनेर सजिल्यै बुझिहाल्नुहुन्छ।

विपिन जी आफैँमा पोख्त र खारिएका कलाकार। केकी र अर्पण लगायत अरु पनि उत्तिकै राम्रो। सबैले आफ्नो चरित्रलाई बुझेर अभिनय गर्नुभएको छ। उहाँहरुले गर्दा कथालाई यसरी भन्नुपर्छ भनेर उर्जा मिल्थ्यो। यस फिल्ममा काम नगरेको भए राम्रो टिम मिस हुन्थ्यो।

‘प्रसाद’ हेरेका र नहेरेका दर्शकले ‘प्रसाद २’ किन हेर्ने?
‘प्रसाद’ जहाँबाट सकिएको हो, त्यसपछि के भयो होला? भन्ने लाग्छ भने ‘प्रसाद २’ हेर्नुहोला। जसरी बलात्कृतबाट जन्मिएको बच्चालाई ‘प्रसाद’को रुपमा ग्रहण गरिएको थियो। त्यसलाई समाजले कसरी ग्रहण गर्ला? त्यसको जवाफ सिक्वेलमा छ।

‘प्रसाद’ नहेरेकालाई पनि यो फिल्म फ्रेस फिल्म लाग्छ। ‘प्रसाद’मा जे घटनाक्रमहरु घट्दै जान्छन्, त्यसलाई हामीले सिक्वेलमा सानो ‘न्यारेशन’मा भन्ने कोशिस गरेका छौँ।

कलाकारलाई बेखुसी पारेर बनाएको फिल्मको स्वाद फिक्का हुने डर छैन?
म निर्देशक भएकाले कसरी राम्रो फिल्म बनाउने भन्नेसँग मतलब छ। निर्माता र कलाकारहरुको विवादसँग मलाई मतलब छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell