काठमाडौं : एसीसी मेन्स प्रिमियर कप २०२३ अन्तर्गत नेपाली क्रिकेट टोलीले आज समूहको बलियो प्रतिस्पर्धी ओमनसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने आजको खेल एकदिवसीय मान्यता प्राप्त भएको क्रिकेट म्यानेजर विनोद दासले पुष्टि गरे।
समूह 'ए' मा नेपाल, ओमन, साउदी अरब, मलेसिया र कतार रहेका छन्।
नेपाल र ओमन यसअघि पछिल्ला पाँच ओडीआईमा भिड्दा ३ पटक ओमनले र २ पटक नेपालले जित निकालेको छ। जारी प्रतियोगितामा ओमनले कतारलाई ४० रनले हराउँदै सुखद सुरुवात गरेको थियो भने नेपालले मलेशियालाई ६ विकेट हराउँदै प्रतियोगिताको सुरुवात गरेको थियो।
शुक्रवार नै हुने समूह 'बी' को खेलमा हङकङ र यूएई मुलपानी क्रिकेट मैदानमा आमनेसामने हुनेछन्।
एसीसी प्रिमियर कपमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’मा यूएई हङकङ, कुवेत, सिंगापुर र बहराइन् छन्।
सेमिफाइनलको खेल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ। बैशाख १७ गते तेस्रो स्थानका लागि खेल हुनेछ।
प्रिमियर कपको विजेताले सोझै एसिया कपमा स्थान बनाउने छ। यस्तै, शीर्ष तीन टोलीले इमर्जिङ टिम एसिया कपमा स्थान बनाउने छ।
इमर्जिङ टीम एसिया कपमा भारत 'ए', पाकिस्तान 'ए', श्रीलंका 'ए', अफगानिस्तान 'ए' र बंगलादेशको 'ए' टोली हुनेछन्। त्यस्तै, प्रिमियर कपका शीर्ष तीन टोलीले इमर्जिङ एसिया कप खेल्नेछन्।
नेपाली टोली
रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी
रिजर्भ
अर्जुन साउद, सुन्दिप जोरा, सूर्य तामाङ, किशोर महतो