काठमाडौं : नेपाली क्रिकेट टोली टस हारेर ब्याटिङमा उत्रिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत समूह 'ए'को खेलमा ओमनका कप्तान जेसन मक्सुदले टस जितेर नेपाललाई ब्याटिङमा निम्ता दिएको हो। नेपाल र ओमनबिचको आजको खेल एकदिवसीय मान्यताप्राप्त हुनेछ।
समूह 'ए' मा नेपाल, ओमन, साउदी अरब, मलेसिया र कतार रहेका छन्।
नेपाल र ओमन यसअघि पछिल्ला पाँच ओडीआईमा भिड्दा ३ पटक ओमनले र २ पटक नेपालले जित निकालेको छ। जारी प्रतियोगितामा ओमनले कतारलाई ४० रनले हराउँदै सुखद सुरुवात गरेको थियो भने नेपालले मलेशियालाई ६ विकेट हराउँदै प्रतियोगिताको सुरुवात गरेको थियो।
शुक्रवार नै हुने समूह 'बी'को खेलमा हङकङ र यूएई मुलपानी क्रिकेट मैदानमा आमनेसामने हुनेछन्।
एसीसी प्रिमियर कपमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’मा यूएई हङकङ, कुवेत, सिंगापुर र बहराइन् छन्।
सेमिफाइनलको खेल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ। बैशाख १७ गते तेस्रो स्थानका लागि खेल हुनेछ।
प्रिमियर कपको विजेताले सोझै एसिया कपमा स्थान बनाउने छ। यस्तै, शीर्ष तीन टोलीले इमर्जिङ टिम एसिया कपमा स्थान बनाउने छ।
इमर्जिङ टीम एसिया कपमा भारत 'ए', पाकिस्तान 'ए', श्रीलंका 'ए', अफगानिस्तान 'ए' र बंगलादेशको 'ए' टोली हुनेछन्। त्यस्तै, प्रिमियर कपका शीर्ष तीन टोलीले इमर्जिङ एसिया कप खेल्नेछन्।