बुटवल : गुल्मीमा घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
आगो निभाउने क्रममा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका-३ का १३ वर्षीय दीपक मुखियाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। पाल्पामा उपचार गराइरहेका उनको शुक्रवार बिहान मृत्यु भएको हो।
आगो निभाउने क्रममा सोही ठाउँका ५५ वर्षीय धनबहादुर कुँवर गम्भीर घाइते भएका छन्। घाइते कुँवरलाई थप उपचारका लागि बुटवल ल्याइएको प्रहरीले जनाएको छ।
बिहीवार साँझ धुर्कोट गाउँपालिका-३ को बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला उनीहरु जलेर गम्भीर घाइते भएका थिए। जंगलमा लागेको आगो निभाउन प्रहरी र स्थानीय खटिएपनि आगो नियन्त्रणमा आउन नसकेको स्थानीयको भनाइ छ।
धुर्कोट गाउँपालिका-७ वाग्लाका विभिन्न जंगलमा पनि आगलागी भइरहेको वडाध्यक्ष लिलाबहादुर खनालले जानकारी दिए। यहाँ पनि केही घर आगलागीको जोखिममा रहेका छन्।
बिहीवार दिउँसो इस्मा गाउँपालिका-५ पटातीस्थित चापटारी सामुदायिक वनमा लागेको आगो बस्तीमा पुग्दा २ जनाको घर गोठ जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए। आगलागीबाट स्थानीय रुद्रबहादुर कुमाल र शिवलाल कुमालको घर र गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ।
पछिल्लो समयमा जिल्लाका विभिन्न वन जंगलहरुमा आगलागीका घटना बढिरहेका छन्। डिभिजन वन कार्यालय गुल्मीकी सूचना अधिकारी मुना शर्माका अनुसार यतिबेला जिल्लाका ३९ सामुदायिक वनमा डढेलो लागेको छ।
सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा आगलागी भइरहेको शर्माले बताइन्। जिल्लामा चार सय ५९ सामुदायिक वन रहेका छन्।
सुक्खा मौसम र हावाहुरी बढ्दै गएकाले दैनिक वनहरूमा डढेलो लाग्ने क्रम वृद्धि हुँदै गएको छ। गुल्मीमा रेसुंगा नगरपालिकाको रेसुंगा क्षेत्र र अर्जुन क्षेत्र, धुर्कोट गाउँपालिकाका तथा मुसिकोट नगरपालिका विभिन्न क्षेत्र आगलागीको जोखिममा रहेका छन्।
गुल्मीमा पछिल्लो तीन महिनामा मात्रै आगलागीमा परेर तीनजनाको मृत्यु भएको छ। केही दिनअघि जंगलमा लागेको आगोका कारण सत्यवती गाउँपालिका-४ लिम्घाका ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको तियो। स्थानीय जंगलमा लागेको आगोले जलेर घाइते भएका शाहीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
त्यस्तै, केही समयअगाडि मदाने गाउँपालिका-६ पुर्कोट दहका ८३ वर्षीय ज्ञानबहादुर जिसीको घरमा आगलागी हुँदा घरमा सुतिरहेका उनको जलेर मृत्यु भएको थियो। इस्मा गाउँपालिका-१ की पवित्रा खत्रीको पनि घरमा आगलागी हुँदा उनको मृत्यु भएको थियो।