PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कुशलको आक्रामक शतक, सोमपालको सुझबुझपूर्ण अर्धशतक र सन्दीपको कीर्तिमान : ओमनमाथि नेपालको मिठो जित



मुकुन्द घिमिरे

कुशलको आक्रामक शतक, सोमपालको सुझबुझपूर्ण अर्धशतक र सन्दीपको कीर्तिमान : ओमनमाथि नेपालको मिठो जित

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत समूह 'ए' को शुक्रवार सम्पन्न खेलमा नेपालले बलियो प्रतिस्पर्धी ओमनलाई हराएको छ। यो जितसँगै प्रिमियर कपको सेमिफाइनल पुग्ने नेपालको सम्भावना बलियो बन्दै गएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमन ४६.३ ओभरमा २२६ रनमा समेटिँदा नेपालले ८४ रनको सहज जित निकालेको हो।

ब्याटिङमा कुशलको शतक, सोमपालको अर्धशतक

ओमनविरुद्धको खेलमा धर्मराएको नेपालको इन्निङ्सलाई सम्हाल्न कुशल मल्लले आक्रामक शतक प्रहार गर्दा सोमपाल कामीले सम्हालिएको अर्धशतकीय इन्निङ्स खेले।

२०.३ ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको अवस्थामा मैदान प्रवेश गरेका मल्लले ९ छक्का र ९ चौकाको सहायतामा ५९ बलमा ३९ औँ ओभरको समाप्तिमा शतक प्रहार गरेका हुन्। उनी १०८ रन बनाएर अक्विब इल्लियासको बलमा आयान खानबाट 'क्याचआउट' भए।

मल्लको यो शतक नेपाली टोलीको तर्फबाट पाँचौँ एकदिवसीय शतक हो। उनी अघि पारस खड्का, रोहित कुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका थिए। यो सँगै कुशल मल्ल नेपालका लागि सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन्।

ओपनरद्वय रन नजोड्दै आउट!

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालको सुखद सुरुवात हुन सकेन। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख डकआउट हुँदा ३.४ ओभरमा नेपाल शुन्य रनमै २ विकेट गुमाएको खराब अवस्थामा थियो। ओमनका बिलाल खानले पहिलो विकेट मेडन राख्दा दोस्रो ओभरमा करिमुल्लाहले पनि मेडन राखेका थिए। तेस्रो ओभरको दोस्रो ओभरमा बिलाल खानले कुशल भुर्तेललाई एबिडब्लु आउट गराउँदा त्यो ओभरमा पनि नेपालले रन जोड्न सकेन। चौथो ओभरमा पनि नेपालले लय टिप्न सकेन। यो ओभरमा पनि मेडन राख्दै करिमुल्लाहले आशिफ शेखको विकेट लिए।

संकटमा परेको नेपाललाई कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी बनाउँदै उद्धार गरे। तर, रोहित १७.१ ओभरमा २३ रन बनाएर आउट भए। चौथो विकेटका रुपमा भीम सार्की २०.३ ओभरमा स्टम्पिङ आउट भए। त्यस्तै आरिफ शेख २९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरी ७ रनमा बोल्ड आउट भए।

सातौँ विकेटका रुपमा ४०.४ ओभरमा मल्ल आउट भएपछि  नेपालको प्लेइङ ११ को सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामीले जिम्मेवारी सम्हाले। उनले ४८ बलमा ९ चौकाको सहायतामा ६३ रन बनाउँदै अविजित रहे। त्यस्तै आक्रामक ब्याटिङ गरेका करण केसी १५ बलमा २९ रन बनाएर अविजित रहे।

आठौँ विकेटका रुपमा सन्दीप लामिछाने ८ रन बनाएर आउट भएका थिए।

बलिङतर्फ ओमनका आयान खानले २ विकेट लिँदा बिलाल खान, कलीमुल्लाह, जेसन मक्सुद, फायत बट, अक्विब इल्लियसले समान १ विकेट लिए।

नेपालको ऐतिहासिक स्कोर

नेपाली क्रिकेट टोलीले एकदिवसीय क्रिकेटमा बनायो यो हालसम्मकै उच्च योगफल हो। यसअघि नेपालले कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध सर्वाधिक २ सय ९७ रन बनाएको थियो।

सन्दीपको कीर्तिमान

बलिङतर्फ सन्दीप लामिछानेले कीर्तिमानी प्रदर्शन गरेको उनले १२.३ ओभरमा १३ रन बनाएर खेलिरहेका अदिल सफिकलाई एलबीडब्लु आउट गराए।

योसँगै लामिछानेले दुर्लभ विश्व कीर्तिमान बनाएका छन्। उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो १०० विकेट लिने खेलाडी बनेका छन्।

यसक्रममा उनले अफगानिस्तानका बलर राशिद खानको कीर्तिमानलाई पछि पारेका छन्। राशिदले ४४ खेलबाट १०० एकदिवसीय विकेट लिएका थिए। उनीपछि अस्ट्रेलियामा मिचेल स्टार्कले ५२ खेलबाट १०० विकेट लिएका थिए।

सन्दीप लामिछानेले भने ४२ खेलबाट १०० औँ एकदिवसीय विकेट लिँदै कीर्तिमान बनाएका हुन्।

ओमनको ब्याटिङ

जवाफी ब्याटिङमा उत्रिएको ओमनको पहिलो विकेटका लागि ३२ रनको साझेदारी रह्यो। पहिलो विकेटका रुपमा १५ रन जोडेका जतिन्दर सिंहलाई ललित राजवंशीले बोल्ड आउट गराए।

दोस्रो, तेस्रो र चौथो विकेट लामिछानेले लिए। उनले १२.३ ओभरमा अदिल सफिकलाई आउट गराउँदा आफ्नो दोस्रो विकेटका रुपमा सोही ओभरको अन्तिम बलमा लामिछानेले ओमनका कप्तान जेसन मक्सुदलाई पनि बोल्ड आउट गरे। नेपालको चौथो र आफ्नो ब्यक्तिगत तेस्रो विकेटका रुपमा लामिछानेले १४.१ ओभरमा कश्यप प्रजापतीलाई २५ रनमा एलबीडब्लु आउट गराए।

पाँचौ विकेटका रुपमा २९ रन बनाएका आयन खानलाई दीपेन्द्रसिंह ऐरीले २२.५ ओभरमा आउट गराए।

क्रिजमा मोहम्मद नदिन र सन्दी गौड रहँदा हुरी र वर्षाको संकेत देखिए पनि खेल भने प्रभावित भएन। तर, पटकपटक दुबैतर्फकव साइट स्कृन ढलेको थियो भने अम्पायरको ह्याट पनि उडेको थियो।

छैटौँ विकेटका लागि ९६ रनको साझेदारी गरेका सन्दीप गौड ४१.१ ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा सोमपाल कामीको हातबाट ४६ रन बनाएर क्याचआउट भए। सातौँ विकेटका रुपमा ओमनका लागि सर्वाधिक ६५ रन बनाएका मोहम्मद नदीम करण केसीको बलमा रोहित कुमार पौडेलको बलमा आउट भए। अक्विब इल्लियासले भने चोटका कारण ब्याटिङ गर्न सकेनन्। बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान तीन/तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवशीले एक विकेट झारे।

सेमिफाइनल पुग्ने सम्भावना बलियो हुँदै

योसँगै समूह ए बाट सेमिफाइनल पुग्ने नेपालको सम्भावना बलियो बन्दै गएको छ। समूहमा लागातार दुई जित निकालेको नेपालको ४ अंक छ। ओमान र मलेसियाले समान १ जित र १ हार ब्यहोर्दै २ अंक जोडेका छन्। कतार र साउदीले भने जित निकाल्न नसक्दा अंकविहीन छन्।

हावाहुरीले प्रभावित

ओमनले जवाफी ब्याटिङ गरिरहँदा हावा हुरी चलेपनि खेल नेपालले जितेको छ।

खेल चलिरहँदा रंगशालामा हावाहुरी चलेको थियो। खेलाडी पिचमा दौडिरहँदा धुलो सबैतिर फैलिएको थियो। ब्याटिङ र बलिङ दुबैमा खेलाडीले संघर्ष गरिरहेका थिए। हावाले भीआईपी बक्समा प्रभावित पारेको थियो भने साइट स्कृन पटकपटक ढलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell