काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
महाशाखाका अनुसार शनिवार दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। अपरान्हपछि पश्चिम तराईका केही तथा पहाडी भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
शनिवार राति कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।