PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

परिवार र समाजले स्वीकार गर्न नसकेको तिलकको अस्तित्वको कथा ‘ब्लु फ्लावर’



रिना थापा

परिवार र समाजले स्वीकार गर्न नसकेको तिलकको अस्तित्वको कथा ‘ब्लु फ्लावर’

पोखरा : परिवारको दबाबकै कारण तिलक वैवाहिक सम्बन्धमा बाँधिन्छन्। अनि बच्चा जन्माउने दबाब पनि उत्तिकै। परिवार र समाजले स्वीकार गर्दैन उनको अस्तित्व। जसले निम्त्याउँछ कहालीलाग्दो समस्या।

कथा सुरु हुन्छ तिलककी आमाको ‘इमोसनल ब्ल्याकमेल’बाट। समलिङ्गीको आफ्नो अस्तित्व दबाएर तिलक महिलासँग वैवाहिक सम्बन्ध बाँधिन चाहेका हुँदैनन्।

दुईपटक विवाह मण्डपबाट भागेका तिलकलाई आमाले आत्महत्या गर्ने धम्की दिएपछि उनी बाध्य भएर विवाह गर्छन्। यसरी नै सुरु हुन्छ सुनिल बाबु पन्तद्वारा निर्मित ‘ब्लु फ्लावर’ सर्ट फिल्म। ४० मिनेटको सर्ट फिल्मले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको कथा बोलेको छ।

समुदायको यथार्थ पीडा चित्रित गरेको यो फिल्म यर्थाथ घटनामा आधारित हो। सुनिल बाबु र प्रद्युम्न मिश्रको निर्देशनमा बनेको यस कथाका पात्रसँग उनको भेट २१ वर्ष अगाडि पोखरामा भएको थियो।

‘ब्लु डाइमण्ड सोसाइटी’ सुरु भएपछि पोखरामा कार्यक्रम लिएर आउँदा सुनिलको भेट यस कथाका पात्रसँग भएको थियो। कथाको छाप सुनिलको मनमा यसरी बस्यो दशकपछि उनले पात्रको कथा फिल्ममा देखाए।

‘२१ वर्ष अगाडि सुनेको घटना हो। तर यस्तै घटना अरुको पनि सुनेँ। पोखरामा नै भेटेको थिएँ। ब्लु डाइमण्डको कार्यक्रममा आउनुभएको थियो,’ सुनिलले भने।

फिल्म बनाउने सोच उनलाई ती पात्रका कारण मात्र भने आएको होइन। अधिकांशको यर्थाथ भोगाइ हो यो। जसलाई सुनिलले पर्दामा देखाउन र बुझाउन चाहन्थे। अनि, बनाए ‘ब्लु फ्लावर’।

समय फेरियो तर समाजको सोच फेरिएन। यस्तो समस्या समाजमा अहिलेपनि रहेको बताउँछन् सुनिलबाबु। जसलाई प्रविधिले भने सहयोग गरेको छ।

‘सम्पन्न परिवारले खुलेर आइसकेपछि पनि परिवारको इज्जत राख्न विवाह गराइदिएको थाहा पाएँ। त्यतिबेला टेष्टट्युब बेबी भन्ने आएको पनि थिएन। फेरि गाउँमा थाहा हुने कुरा पनि भएन। अहिलेको अवस्थामा पनि त्यो बाध्यता गराउनु उचित होइन नि! यो समस्या अहिले पनि छ। प्रविधिले अलिकति सजिलो मात्र बनाइदिएको हो। त्यही पनि राम्रो समाधान भएन,’ उनले भने।

सन्तानको समस्या प्रविधिले समाधान गरेपनि यौन जीवनको सन्तुष्टिमा समस्या हुने विचार राख्छन् उनी। भन्छन्, ‘यहाँ महिलाको यौन अधिकार र सन्तुष्टिको विषयपनि हुन्छ।’

परिवारले जबरजस्ती विवाह गरिदिने समस्या अहिलेपनि रहेको सुनिल सुनाउँछन्। जसकारण विवाहको डरले भागेका व्यक्ति आर्थिक दबाबले यौन पेशामा संलग्न हुन बाध्य भएको उनको भनाइ छ।

निर्माता तथा निर्देशक सुनिल बाबु पन्त।


‘अहिलेपनि विवाह गर्छन्। भागेर हिँड्न चाहनेलाई संघसंस्था छ। काठमाडौंमा नै आउँछन् धेरै जसो अनि बाध्य भएर यौन पेशा गर्नेहरु बढेको पनि छ। मुख्य कारण चाहिँ विवाहको डरले भाग्छन्,’ उनले भने।

गाउँका पात्र जसलाई यसबारे केही थाहा हुँदैन। पात्र मनपरेर पनि उनले यो कथा रोजेका हुन्। फिल्मले सुनिलको पनि आधा कथा भनेको छ।

‘आधा कथा मेरो पनि हो। विवाह गर्नुपर्छ भनेर धेरै दबाब आयो। तर म शिक्षित पनि भएँ। शहरमा आइसकेको थिएँ। गाउँमा रहेको भए त्यो हिम्मतपनि हुँदैन्थ्यो होला। शहरमा आएपछि म आफनो खुट्टामा उभिनसक्ने भइसकेको थिएँ त्यसले गर्दा दबाब आएपनि सहन सक्थेँ,’ सुनिलले सुनाए।

आफ्नो पनि कथा बोलेको यो फिल्मप्रति दर्शकको प्रतिक्रिया राम्रै पाएका छन् सुनिलले। अधिकांशले आफ्नै कथा सुनाएको प्रतिक्रिया दिएका छन्। कोही रुन्छन् पनि उनलाई सुनाउँदै।

उनले कतै समस्या पनि भोग्नुपरेको छ। काठमाडौं, हेटौँडालगायत विभिन्न शहरमा प्रर्दशन भएको यो फिल्मले राम्रो माया पायो। तर पोखरामा चैत ३० गते प्रदर्शनका क्रममा नमिठो अनुभव गर्नुपर्‍यो। पोखरामा रहेको एक संस्थाले विकृति फैलाउने फिल्म प्रदर्शन रोक्न हललाई पत्राचार गरेको थियो।

‘पोखराकै पात्रले यहाँ यो फिल्म विकृति हो नदेखा भनेर पत्र नै गर्नुभएको रहेछ। विश्व हिन्दु महासंघ कास्की शाखाको मान्छेले। फेरि हलवालापनि आत्तिएर आउनुभयो। लाष्टमा क्यान्सल नै होला जस्तो भएको थियो। पछि उहाँले बुझ्नुभयो,’ उनले भने।

४० मिनेटको यो फिल्म हलमा लाग्दैन। उनी सामाजिक सञ्जालमा यति छिटै प्रर्दशन नगर्ने सोचमा छन्। तर राजनीतिज्ञहरुलाई फिल्म देखाउन मन छ उनलाई। साथै अन्य फिल्म पनि बनाउने उनको रहर छ। जून फिल्मले समुदायको वकालत गरोस्।

‘फिल्म अरुपनि बनाउँछु, यो फिल्म आवाज हो। अझ प्रभाव पर्दो रहेछ यसरी छिटो पुग्न सकिँदो रहेछ। हामीले एक/दुई वर्ष लगाएर बुझाउने काम एउटा फिल्मले ४० मिनेटमा तुरुन्त बुझाइदिन्छ, धेरै कुरा गरिदिन्छ,’ उनले भने।

सुनिलले बनाएको पहिलो फिल्म पूरा नभई सकिन्छ। बिचमा बिट मारिएको कथाको समाधान खोज्ने जिम्मा भने उनले दर्शकलाई छोडेका छन्।

‘सोलुसन दर्शकहरुले सोच्नुपर्‍यो। सचेत नागरिकको हिसाबले आफैँ त्यो छ भनेपनि बोल्न सक्नुपर्‍यो, खुलेर आएर लड्नुपर्‍यो, संघसंस्थाहरु छन्। जबरजस्ती विवाहले यो समुदाय मात्र प्रभावित हुँदैन। उहाँसँग जोडिएर आउने व्यक्तिहरुको जिन्दगी बर्बाद हुन्छ। समग्रमा पितृसत्ताको समस्या हो यो। यसलाई हरेक दर्शकले हेरेर केही गर्नुस्। पोलिसिमेकरले बुझ्नुस्,’ उनले भने।

फिल्मले छिटो बुझाउन सक्ने बुझाइ राखेका उनले अब यसक्षेत्रमा थप काम गर्ने सोच राखेका छन्। साथै राजनीतिमा यस समुदायको प्रतिनिधित्व बढाउनका लागि साथ र सहयोग गर्ने उनले सोच पनि बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell