PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

आगो निभाउने क्रममा घाइते भएका मुखियाको पनि गयो ज्यान



पहिलोपोस्ट

आगो निभाउने क्रममा घाइते भएका मुखियाको पनि गयो ज्यान

बुटवल : गुल्मीमा घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ। गत बिहीवार साँझ धुर्कोट गाउँपालिका–३ स्थित बर्दबास सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ५५ वर्षीय धनबहादुर कुँवरको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्रकुमार श्रेष्ठ जानकारी दिए। आगो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका–३ कै १३ वर्षीय दीपक मुखियाको पनि शुक्रवार बिहान उपचारको क्रममा पाल्पामा मृत्यु भएको थियो।

गुल्मीमा पछिल्लो तीन महिनामा मात्रै आगलागीमा परेर ५ जनाको मृत्यु भएको छ। केही दिनअघि जंगलमा लागेको आगोका कारण सत्यवती गाउँपालिका–४ लिम्घाका ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको थियो। स्थानीय जंगलमा लागेको आगोले जलेर घाइते भएका शाहीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

त्यस्तै, केही समयअगाडि मदाने गाउँपालिका–६ पुर्कोट दहका ८३ वर्षीय ज्ञानबहादुर जिसीको घरमा आगलागी हुँदा घरमा सुतिरहेका उनको जलेर मृत्यु भएको थियो। इस्मा गाउँपालिका–१ की पवित्रा खत्रीको पनि घरमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell