काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिस्ट पार्टीको ऐंझेरु भएको आरोप लगाएका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले प्रचण्ड कम्युनिष्ट पार्टीमा ऐंझेरु झै पलाएको टिप्पणी गरे। 'प्रचण्ड यही कम्युनिस्ट पार्टीबाट ऐंझेरु पलाएजसरी पलाए,' उनले भने।
सबभन्दा बढी विकृत भाँडभैलो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको ओलीको आरोप छ। 'सबभन्दा पछिल्लो सबभन्दा धेरै विकृत। सबभन्दा प्रतिकृयावादीको सोझै दलाली गर्ने निर्लज्ज यो हो पछिल्लो विभाजन,' ओलीको आरोप छ। उनले एकीकृत समाजवादी परित्याग गरेकोमा नेता मुकुन्द न्यौपानेलाई धन्यवाद दिएका थिए। अरु नेताहरु पनि एमालेमा फर्किन लागेको ओलीको भनाइ छ।
सबै पार्टीमा रहेका कम्युनिष्टहरुलाई एमालेमा आउन पनि ओलीले आग्रह गरे।
'बुर्जुवाहरुको सेवाहरुमा समर्मित हुने, कम्युनिष्ट आन्दोलनाका ठूला गफ गर्ने। कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने, कम्युनिस्ट आन्दोलनको माला जप्ने?' ओलीले एमालेबाट विभाजित भएकाहरुलाई लक्षित गर्दै भने।
सत्ता गठबन्धनले चुनावमा आचार संहिताको धज्जी उडाएको ओलीको टिप्पणी थियो। 'सरकारी हेलिकप्टर लिएर प्रलोभन बाँडेर के गरे? आचार संहितालाई त यिनीहरुले धुलोपिठो बनाइ अचार बनाइसके। बाजुरामा मान्छे मार्दा के को आचार संहिता? यहि गठबन्धन हो आचार संहिता उल्लंघन गर्ने,' उनले भने।