काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी फेरि मिल्न लागेको दाबी गरेका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा खुल्लामञ्चमा आयोजित कार्यक्रममा विप्लवले कुनै पनि माओवादी चिन्तित हुन नपर्ने बताए।
'कोही पनि चिन्तित नहुनुस् माओवादी एक हुन्छ। माओवादी भनेको विचार हो। माओवादी मिल्दै छन्। माओवादीहरुलाई एक बनाएर जानुपर्छ हाम्रो विचार यो छ,' उनले भने।
उनले आफ्नो पार्टी सबै खालका संघर्षका लागि तयार भएको बताए। उनले केही मान्छेहरु सडकमा आए पनि त्यसको कुनै अर्थ नभएको बताए।
'रगत दिन पर्छ हामी तयार, ज्यान दिनपर्छ हामी तयार। सडकमा मनपरी बोलेर केही फरक पर्दैन। गाउँका दिदी बहिनीहरु याद गर्नुस् सामाजिक सञ्जालका भरमा कुदनु हुँदैन,' उनले भने।
उनले माओवादीले महललाई झुपडी र झुपडीलाई महल बनाउन सक्ने पनि बताए। 'मान्छेहरुले भन्छन् सबभन्दा बिग्रेका माओवादी। हो हामी बिग्रेका छौं। हामी कोदो खाएर आएका मान्छे हौं। काठमाडौं आएपछि हामी बदलियौं। हामी आवश्यक पर्यो भने महललाई झुपडीमा र झुपडीलाई महलमा बदल्न सक्छौं,' उनको भनाइ छ।
उनले अहिले पैसा लुकाएर आर्थिक संकट आएको टिप्पणी गरे। 'अभाव नै अभाव छ हामी सुन्दै छौं केही पैसा बैंकमा लुकाइएको छ। केही मान्छेको घरमा फालाफाल पैसा छ। तर युवाहरुलाई बाच्न गाह्रो भइसक्यो,' उनले भने। निर्वाचन भएको पाँच महिनासम्म पनि सरकार पूर्ण नभएको भन्दै उनले आलोचना गरे। अहिले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको काउण्टडाउन सुरु भएको बताए।