PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

एसीसी प्रिमियर कप: साउदी र कुवेत विजयी



पहिलोपोस्ट

एसीसी प्रिमियर कप: साउदी र कुवेत विजयी
फाइल फोटो क्यान

काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत शनिवार सम्पन्न खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका छन्।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न समूह 'ए'को खेलमा साउदी अरबले कतारलाई ७ विकेटले हरायो।

टस हारेर ब्याटिङमा उत्रिएको कतारले निर्धारित ५० ओभर सकिन १ बल बाँकी छँदा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो। जवाफ ब्याटिङमा उत्रिएको साउदीले ३४.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

कतारका लागि मोहम्मद तानवीरले सर्वाधिक ४६ रन बनाउँदा इमल लिएनएजले ३१ तथा कमरान खानले ३६ रनको महत्वपूर्ण योगदान दिए। बलिङतर्फ साउदीका इस्तिआक अहमेदले सर्वाधिक ४ विकेट लिँदा अतिफ उर रहमान, जैन उल अबिडिन र अहमेद बलड्रफले समान २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको साउदीलाई अब्दुल वहीदले शतकीय इन्निङ्स खेल्दै टिमको जित सुनिश्चित गरे। उनले सर्वाधिक १२४ रन बनाउँदा अर्का ओपनर वकर उल हसनले ५५ रन जोडे। त्यस्तै कप्तान हिसम शेख २१ रनमा अविजित रहँदा मनन अली ५ रनमा अविजित रहे। बलिङतर्फ कतारका इक्रामुल्लाह खानले २ विकेट लिँदा खुर्रम शाहजादले १ विकेट लिए।

त्यस्तै मुलपानी मैदानमा सम्पन्न खेलमा कुवेतले बहराइनलाई २ विकेटले हरायो।

टस हारेर ब्याटिङमा उत्रिएको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५५ रन बनाएको थियो। यसक्रममा बहराइनका लागि इमरन अनवरले सर्वाधिक ५३ रन बनाउँदा फैद अहमेदले ४८ रन, जुनैद अजिजले ३६ तथा सोइल अहमेद र कप्तान हैदर बटले समान ३४ रन बनाए। बलिङतर्फ कुवेतका सायेद मोनिबले ४ विकेट लिँदा शाहरुख क्वुडोसले २ तथा अडनान इड्रीसले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कुवेतले ४४.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। कुवेतका लागि याशिन पटेलले सर्वाधिक अविजित ६३ रन बनाउँदा एडनन इड्रीसले ५६ तथा मीत भावसरले ५४ रन बनाए। बलिङतर्फ बहराइनका अब्दुल मजिदले सर्वाधिक ३ विकेट तथा अली दाउद, रिजवान बट, इमरान अनवर र सोहिल अहमेदले समान १ विकेट लिए पनि कुवेतलाई लक्ष्यसम्म पुग्नबाट रोक्न सकेनन्।

योसँगै पराजयबाट प्रतियोगिताको सुरुवात गरेका साउदी र कुवेतले प्रतियोगितामा पहिलो अंक जोडेका छन्। समूह ए मा नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा रहँदा मलेशिया, ओमन र साउदी समान २ अंक जोडेर शीर्ष चारभित्र छन्। कतारले भने दुई खेलमै पराजय ब्यहोर्दै खाता खोल्न सकेको छैन्।

समूह 'बी' मा ४ अंक जोडेको हङकङ छ भने बहराइन, यूएई र कुवेत २ अंक जोड्दै शीर्ष चारमा छन्। दुई खेलमै पराजय ब्यहोरेको सिंगापुरले भने खाता खोल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell