काठमाडौं : तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २ मा रिक्त रहेका प्रतिनिधिसभाका तीन सिटका भइरहेको उपनिर्वाचन अन्तर्गत अहिले मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ। निर्वाचन हुने तीनै क्षेत्रमा सार्वजनिक विदा दिइएको छ।
तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, कांग्रेसबाट गोविन्द्र भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल लगायत प्रतिस्पर्धामा छन्।
तनहुँ क्षेत्र नं १ अन्तर्गतका १५२ मतदान केन्द्र छन्। जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन्। शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए। निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गरेका छन्।
यस्तै, चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। यो क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले प्रक्रियाको क्रममा कतिपय केन्द्रमा दुई-चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको बताए। यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदैछ। यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन्। ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए।
यस्तै, बारा २ मा भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र एमालेका पुरुषोतम पौडेलबिच मुख्य प्रतिस्पर्धा हुनेछ। यादवलाई गठबन्धनको साथ छ।
बारा २ मा ८२ मतदानस्थल अन्तर्गत १३७ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ। ८२ मध्ये ६५ मतदानस्थल उच्च जोखिममा तथा १७ वटा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।