काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा आज उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।
यस्तै, चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। गत मंसिरामा सम्पन्न निर्वाचनमा लामिछाने यही क्षेत्रबाट विजयी भएका थिए। तर, नागरिकता विवादमा मुछिएपछि सर्वोच्चले उनको मत खारेज गरेको थियो। त्यसपछि रिक्त पदका लागि उपनिर्वाचन भइरहेको हो।
यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी मानिएका लामिछाने र न्यौपानेले भने मतदान गर्न पाउने छैनन्। उनीहरु दुवैजना यो क्षेत्रका मतदाता होइनन्।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने चर्तुमुखी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका छन्।
यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान हुँदैछ। यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन्। ती मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसिरहेका छन्।