PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

तनहुँ १ उपनिर्वाचन : कांग्रेसका भट्टराई र राप्रपाकी गुरुङले मात्रै मतदान गर्न पाउने, अन्य उम्मेदवारले नपाउने



पहिलोपोस्ट

तनहुँ १ उपनिर्वाचन : कांग्रेसका भट्टराई र राप्रपाकी गुरुङले मात्रै  मतदान गर्न पाउने, अन्य उम्मेदवारले नपाउने
तनहुँको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली काङ्ग्रेसका गोविन्द भट्टराई। तस्विर : रासस

काठमाडौं : तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ। निर्वाचनमा  दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्नेछन्। अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्नै लागि मतदान गर्न पाउने छैनन्।

मतगणनाका लागि पनि गणनास्थलमा सिसीक्यामेरा जडान, तारबार गरिएको सहायक मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए।

‘सबैलाई सहज हुने गरी मतगणनास्थलसमेत व्यवस्थित बनाएका छौँ’, उनले भने, ‘मतदान अधिकृतलाई मतपत्र र मतपेटिकालाई सुरक्षित बनाउन पनि आग्रह गरेका छौँ।’

निर्वाचनका लागि एक हजार तीन सय ६८ कर्मचारी खटाइएको प्रमुख ढकालले बताए उनका अनुसार तीमध्ये सात सय ६० निर्वाचन कार्यालयबाट नियुक्ति लिएका छन् भने ६०८ जना स्वयंसेवक मतदान अधिकृतले नियुक्ति गरेका हुन्।

 निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताए। नेपाल प्रहरी १ हजार ६ सय परिचालन गरिएको छ उनले बताए। त्यस्तै सशस्त्र प्रहरी ४५० र नेपाली सेनाबाट ५०० गरि करिब दुई हजार पाँच सय सुरक्षाकर्मी खटाइएको छ।

तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तीनवटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell