काठमाडौं : ‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा देखिने भएका छन्। राज बहादुर सानेको निर्देशन रहने यो फिल्म आगामी हप्ताबाट छायाङ्कन सुरु हुनेछ।
शनिवारबाट सो फिल्मको गीतहरु रेकर्ड गर्ने कार्य सुरु भइसकेको निर्माण पक्षले जनाएको छ। म्युजिक नेपालको स्टुडियोमा ‘झुम्का कानैमा’ बोलको गीत रेकर्ड गरिएको हो।
यसअघि सानेको निर्देशनमा ‘वृन्दावन’, ‘वीरंगना’ र सिल्ली फो जस्ता फिल्महरु बनिसकेका छन्।
‘सिटामोल’मा सौगात र बेनिशाका साथै बुद्धि तामाङ, ज्ञानु सुनार र ध्रुव दत्त पनि अनुबन्धित भइसकेका छन्। बाँकी कलाकारहरुलाई पनि चाँडै अनुबन्धित गरिने निर्देशक सानेले बताए।
फिल्मको कथा साने स्वयंको हो भने 'स्क्रिप्ट'को काम प्रदीप भारद्वाजले गरेका छन्। फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहनेछ।
निर्देशक सानेले फिल्मले वास्तविक घटनालाई समेट्ने बताए। ‘नामले नै फिल्मको थिम प्रस्ट्याउँछ। फिल्मले नेपाली समाजमा घटिरहेको वास्तविक घटनालाई नै भन्नेछ। हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रूपमा फिल्म बन्नेछ,’ उनले भने।