PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

पाल्पा बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो



पहिलोपोस्ट

पाल्पा बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको जोरधारामा आइतवार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएकी एक महिलाको पहिचान खुलेको छ। मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ३६ वर्षीया राधिका पौडेल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बसमा सवार ३८ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको पहिचान खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। आइतवार बिहान बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बर बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा दुर्घटना भएको थियो।

घाइतेहरूको उद्वारपछि बसमा सवार यात्रुका सामान भीरबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। सडकको बायाँतर्फबाट गुडिरहेको बस दायाँतर्फबाट भीरमा खसेको प्रहरी नायव उपरीक्षक थापाले बताए। दुर्घटनाग्रस्त बस सडकबाट करिब २० मिटर तल खसेर भीरमा अड्किएको अवस्थामा छ। 

दुर्घटनपछि जिल्ला प्रहरी कार्यालय पाल्पा, ट्राफिक प्रहरी र दोभान प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयबासीले घाइतेहरूको उद्वार गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell