काठमाडौं: फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’ वैशाखको २१ गतेबाट रिलिज हुँदैछ। रिलिजको तरखरमा हुँदा मुख्य कलाकार धिरज मगर र जसिता गुरुङ प्रचारमा लागि परेका छन्।
फिल्मको प्रमोसनको लागि शुक्रवार र शनिवार कलाकारहरु पश्चिम नेपालको बुटवल, भैरहवा, कपिलबस्तु र नेपालगञ्जमा थिए। जहाँ उनीहरुले हजार भन्दा बढी कलेजका विद्यार्थी, फिल्म हेर्न हलमा पुगेका दर्शक र मिडियाकर्मीसँग साक्षात्कार गरे।
दर्शकहरुबाट पाएको प्रतिक्रियाबाट निकै उत्साह मिलेको जसिताले बताइन्। ‘हामीलाई दर्शकले दिनुभएको मायाबाट अझै आत्मविश्वास बढेको छ। दर्शकलाई फिल्मको बारेमा हरेक कुरा थाहा रहेछ। यसले पनि फिल्मप्रति दर्शकको चासो कति छ भन्ने थाहा हुन्छ।’
त्यस्तै, धिरज मगरले फिल्म हेर्न पश्चिम नेपालका दर्शकले देखाएको उत्साहले खुसी थपेको बताए। उनले भने,‘दर्शक र मिडियाकर्मीसँग साक्षात्कार गर्दा बल्ल फिल्मप्रति आम मानिसहरुको चासो थाहा हुन्छ। यसपटक हामीले नजिकबाट दर्शकको फिल्मप्रतिको चासो र रुची बुझ्न पायौं। फिल्मको बारेमा दर्शकले सबैथोक थाहा रहेछ। यसले, उहाँहरुको फिल्म हेर्ने योजना प्रतिबिम्बित गर्छ।’
रेनशा राई रानाको निर्देशन रहेको डान्स ड्रामा जनरामा बनेको यस फिल्मले युवापुस्ताको कथा समेटिएको छ।