काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत आइतवार सम्पन्न समूह 'ए'को खेलमा ओमनले मलेसियालाई हराएको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमनले ८ विकेटको फराकिलो जित निकाल्न सफल भएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट लिँदै २२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमनले ४१.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
सुरुवाती ब्याटिङमा उत्रिएको मलेसियाका लागि ओपनरद्वय मोहम्मद अमिर र विरनदीप सिंहले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए। सिंहले सर्वाधिक ९४ रन बनाउँदा अमिरले २० तथा सइद अजिजले १८ रन बनाए। त्यसबाहेक मोहम्मद सेहेदादले अर्धशतक बनाउँदै ५५ रन बनाउँदा मोहम्मद वाफिक १९ रनमा अविजित रहे।
बलिङतर्फ ओमनका कप्तान जेसन मक्सुदले सर्वाधिक ४ विकेट लिँदा बिलाल खान र आयान खानले समान २ विकेट तथा कलीमुल्लाहले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको ओमनका कश्यप प्रजापति र जतिन्दर सिंहले पहिलो विकेटका लागि १२३ रनको साझेदारी गरे। प्रजापति ६६ रन बनाएर आउट हुँदा शतकीय इन्निङ्स खेलेका सिंह १०१ तथा अर्धशतक बनाएका जेसन मक्सुद ५२ रनमा अविजित रहे। मलेसियाका मोहम्मद अमिरले २ विकेट लिए।
कीर्तिपुरमा यूएईको बिस्फोटक ब्याटिङ
त्यस्तै कीर्तिपुर मैदानमा सम्पन्न खेलमा बिस्फोटक ब्याटिङ गरेको यूएईले सिंगापुरमाथि २०१ रनको फराकिलो जित निकाल्न सफल भयो।
बृत्य अरबिन्द र मोहम्मद वसीमले बिस्फोटक ब्याटिङ गर्दा यूएईले सिंगापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७० रन बनायो।
पहिलो विकेटका रुपमा २.४ ओभरमा आर्यन लार्कालाई गुमाएको यूएईका लागि दोस्रो विकेटका लागि मोहम्मद वसीमले २ सय ४६ रनको साझेदारी गर्दै टोलीलाई विशाल लक्ष्यतर्फ डोहोर्याए। बृत्यले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको सहायतामा १७४ रन बनाउँदा कप्तान वसीमले १३३ बलमा ९ चौका र १६ छक्काको सहायतामा १६० रन बनाए।
जारी प्रतियोगितामा अरबिन्द यो उच्च स्कोर भने होइन। उनले कुवेत विरुद्धको खेलमा १८५ रन बनाएका थिए।
त्यसबाहेक आयन अफ्जल खानले ७४ रन बनाउँदा सचित शर्मा १६ रनमा अविजित रहे।
बलिङतर्फ सिंगापुरका अद्वित्य भार्गवले सर्वाधिक ४ विकेट लिँदा रमेश कालीमुथुले ३, विनोथ वसकरनले २ तथा मनप्रीत सिंहले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरका लागि मनप्रीत सिंहले अर्धशतकीय इन्निङस् खेल्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोहोर्याए। उनले सर्वाधिक ६६ रन बनाउँदा थिलिपन ओमइदुरइले ५२ रन जोडे। त्यस्तै कप्तान अरित्र दत्त र सुरेन्द्रन चन्द्रमोहनले समान ३८ रनको योगदान दिए।
बलिङतर्फ यूएईका आयन अफ्जल खान, कार्तिक मियप्पन र सचित शर्माले समान २ विकेट लिँदा जुनैद सिद्धिकी, रोहन मुस्तफा र जहुर खानले समान १ विकेट लिए।
अंकतालिका
आइतवारको खेलसँग समूह 'ए' मा ओमन र 'बी' मा यूएईले सेमिफाइल पुग्ने समीकरणलाई बलियो बनाउँदै लगेका छन्। समूह 'ए' मा दुई खेलमा शतप्रतिशत जित निकालेको नेपाल र तीन खेलमा दुई खेल जितेको ओमनको समान ४ अंक छ। त्यस्तै मलेसिया र साउदी अरेबियाले समान २ अंक जोड्दा कतार तालिकाको पुछारमा छ। हरेक टोलीले समूहमा चार खेल खेल्नेछन्।
त्यस्तै समूह 'बी'मा दुई खेलमा शतप्रतिशत जित निकालेको हङकङ र तीनखेलमा दुईवटा जित निकालेको यूएईको समान ४ अंक छ। तेस्रो र चौथो स्थानमा रहेका बहराइन र कुवेतको समान २ अंक छ भने तालिकाको पुछारमा सिंगापुर छ।