PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

चलचित्र जुधाउँदा फाइदा कसलाई? वितरक भन्छन् : यो रोगको कुनै औषधि छैन



पहिलोपोस्ट

चलचित्र जुधाउँदा फाइदा कसलाई? वितरक भन्छन् : यो रोगको कुनै औषधि छैन

काठमाडौं : बैशाख १५ गते एकैदिन ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’, ‘कैदीको पत्र’ र ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ प्रदर्शन हुँदैछन्। एकैदिन चार फिल्महरु जुध्दा प्रतिस्पर्धा कडा हुने निश्चित छ।

हुन त फिल्महरु एकआपसमा धेरै जुध्नु नौलो कुरा होइन। यसअघि पनि बैशाख १ गते ‘जारी’सहित ‘बुलाकी’ र ‘बिहे पास’ रिलिज भए। जसमध्ये उपेन्द्र सुब्बाको ‘जारी’ले राम्रो व्यापार गरिरहेको छ। ‘बुलाकी’का निर्माताले ‍शो नपाएको भन्दै दुई दिनमै हलबाट फिल्म हटाए।

यसैबिच, वितरक गोपाल कायस्थ चलचित्र जुधाउने रोगको औषधि नरहेको बताउँछन्। काठमाडौंमा आइतवार ‘प्रसाद २’ टिमले पत्रकार भेटघाट कार्यक्रम राखेको थियो। जहाँ वितरक कायस्थले आफूले एकै मितिमा फिल्म नजुधाउन आग्रह गरेपनि निर्माताले नमान्ने सुनाए।

‘सुरुमा हामीले ‘प्रसाद २’को रिलिज डेट बैशाख १ गतेका लागि तय गरेका थियौँ। जसमध्ये मैले फिल्म बुलाकीको वितरणको जिम्मा लिएको थिएँ। प्रसाद २ पनि छ, हजुरहरु सर्नुभन्दा बुलाकीका निर्माताले मान्नु भएन। अनि हामी नै एकसाताअघि आएका थियौँ। कारणवश फिल्म रिलिज हुन पाएन’, उनी भन्छन्, ‘किनकी म कहिले पनि सिनेमा जुधाउने वितरकमा पर्दिनँ। म प्रायः सबैलाई फिल्म नजुधाउनोस् भनेर सम्झाउन्छु। चलचित्र जुधाउने रोगको कुनै औषधि छैन जस्तो लाग्छ। किनकी कुनै संघसंस्थालाई पनि यसले न्याय गर्न सकेको छैन।’

राम्रो रिलिज डेटभन्दा पनि सिनेमा चल्ने कन्टेन्ट नै बलियो हुनुपर्ने कायस्थको तर्क छ। भन्छन्, ‘फिल्म चल्न बैशाख १ तथा दशैँ नै हुनुपर्छ भन्ने छैन। फिल्मको कन्टेन्ट राम्रो हुनुपर्‍यो। उदाहरणको रुपमा जारीलाई लिन सकिन्छ। अहिले जसको सिनेमा बलियो छ उसको चल्छ। दर्शकलाई एउटा टिजर र ट्रेलर भए पुग्छ। दर्शकले त्यो सिनेमा हेर्ने/नहेर्ने भनेर छुट्याउँछन्। त्यसैले बोलेर सिनेमा चल्दैन।’

आफूले ‘नाई नभन्नु ल ६’ का निर्देशक र वितरकसँग फिल्म नजुधाउन भन्दा पनि नमानेको भन्दै उनले गुनासो पोखे।

कायस्थले भने, ‘नाई नभन्नु ल टिम जुध्न आउने भनेपछि मैलै विकास आचार्य र मनोज राठीसँग कुरा गरेँ। चलचित्र संघको बैठकमा पनि मैले भनेकै हो। तर, उहाँहरु यस्तो पीडित चलचित्रसँग जुधाउन आउनुभयो। अब जसको कन्टेन्ट राम्रो छ, त्यही चल्छ। हामीलाई आफ्नो कथावस्तुप्रति पूरा विश्वास छ।’

त्यसैगरि, निर्देशक सुदर्शन थापाले पनि रिलिज मितिले फिल्म चल्ने कुराको निर्धारण नगर्ने सुनाए। डेटको मामिलामा ‘प्रसाद २’ जति लचिलो फिल्म अरु नरहेको थापाको दाबी छ।

‘यसअघि पनि बैशाख १ गते रिलिज गरेनौँ। किनकी हामीलाई फिल्मप्रति विश्वास थियो। नयाँवर्ष र दशैँको रिलिज गर्दा फिल्म चल्छ भन्ने हुँदैन। किनकी दशैँमा होडबाजी गरेर नचलेका सिनेमाहरु पनि धेरै छन्,’ उनले भने।

तर, अभिनेत्री केकी अधिकारीको यस विषयमा फरक मत छ। उनले कोरोनाले रोकिएका फिल्महरु धेरै हुँदा यस्तो समस्या आएको सुनाउँछिन्।

उनले भने, ‘कोरोनापछि चलचित्रहरु पाइपलाइनमा धेरै छन्। अहिले निर्माताले चाहेर पनि सिंगल रिलिजको अवसर पाउन मुश्किल हुन्छ। त्यसमाथि फिल्ममेकरलाई आफ्नो फिल्म पुरानो हुने डर हुन्छ। उनीहरु जतिसक्दो नयाँ चिज पस्किन भन्ने हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell