काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले संकटा क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टारले संकटामाथि ३-० गोलको जित निकालेको हो।
खेलको ४१ औँ मिनेटमा मार्टिन्स अजयीको गोलमा थ्री स्टारले अग्रता बनाएको थियो। दोस्रो गोल पनि मार्टिन्सले नै ४६ औँ मिनेटमा गरे। त्यस्तै इन्ज्युरी समयमा सन्तोष साउखलाले गोल थप्दा थ्री स्टारले ३-० गोलको जित निकालेको हो।
त्यस्तै आइतवार नै च्यासल मैदानमा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लब २-२ गोलको बराबरीमा रोकिए। सातदोबाटोले दुईपटक बनाएको अग्रता कायम गर्न नसक्दा अंक बाँड्नु परेको हो।
खेलको पहिलो मिनेटमै दीपक सिंह ठकुरीको गोलमा सातदोबाटोले अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा हिमालयन शेर्पा क्लब पुनरागमन गर्न सफल भयो। खेलको ७२ औँ मिनेटमा निशान लिम्बूले गोल गर्दै खेल बराबरीमा ल्याए। यता सातदोबाटोलाई ठकुरीले नै ८० औँ मिनेटमा गोल गर्दै खेलमा फर्काए। तर, ८३ औँ मिनेटमा शेर्पाका शुसिल राईले गोल फर्काएपछि खेल २-२ गोलको बराबरीमा रोकियो।
योसँगै सादोबाटोले शीर्ष तीनमा पुग्ने अवसर गुमाएको छ। सातदोबाटोले १८ अंक जोडेर चौथो स्थानमा रहँदा समान अंक जोडेको चर्च ब्वाइज तेस्रो स्थानमा छ। आइतवार संकटालाई हराएको थ्री स्टार भने २१ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। जावलाखेल भने २३ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ।