PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

‘एसिया कप’ देखाएर प्रिमियर कपमा ‘मोटिभेसन’ दिँदै देशाइ : समूह चरण भन्दा सेमिफाइनलतिर नजर!



मुकुन्द घिमिरे

‘एसिया कप’ देखाएर प्रिमियर कपमा ‘मोटिभेसन’ दिँदै देशाइ : समूह चरण भन्दा सेमिफाइनलतिर नजर!

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गतका समूह चरणका खेलहरु काठमाडौंमा जारी छन्। समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमन, साउदी अरेबिया र कतार प्रतिस्पर्धा गरिरहेका छन् भने समूह ‘बी’मा हङकङ, बहराइन, यूएई, कुवेत र सिंगापुर प्रतिस्पर्धामा छन्।

दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। र, फाइनल पुग्ने दुई टोलीमध्येको विजेताले एसीसी एसिया कपमा स्थान बनाउने छ। र, एसियाका शीर्ष राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ। त्यस्तै शीर्ष तीन टोलीले इमर्जिङ एसिया कपमा प्रतिस्पर्धा गर्नेछन् जसमा एसियाली टेस्ट राष्ट्रहरुको ‘ए’ टिमको सहभागिता रहनेछ।

स्वभाविक नतिजा, नजर सेमिफाइनलमा

दश टोली सम्मिलित प्रिमियर कपमा तीन ओडीआई मान्यताप्राप्त राष्ट्र नेपाल, यूएई र ओमन रहेका छन्। अर्थात् प्रतियोगिताको दाबेदारीमा यी तीन टोलीको नाम अगाडि सोझै देखिन्छ।

त्यस्तै, ओडीआई मान्यता नभए पनि विश्वकपसम्मको अनुभव बोकेको टोली हो : हङकङ। अर्थात् प्रतियोगिताको दाबेदार यिनै टोली हुन आउने अनुमान प्रतियोगिता अघिदेखिकै हो।

यी चार टोलीमध्ये दुई टोली नेपाल र ओमन समूह ‘ए’मा र यूएई र हङकङ समूह ‘बी’मा छन्। त्यसबाहेक मलेसिया, साउदी अरेबिया, बहराइन, कुवेतले पनि कडा चुनौती प्रस्तुत गरिरहेका छन्।

कागजी हिसाबमा बलिया देखिएका टोलीको प्रदर्शन कस्तो छ त लिग चरणमा?

समूह ‘ए’ मा दुवै खेल खेलेर ४ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमनलाई हराएको थियो।

त्यस्तै, पहिलो खेलमा कतारलाई हराएको ओमन दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो। तेस्रो खेलमा आइतवार ओमनले मलेसियालाई हराउँदै शीर्ष चारको दाबी बलियो बनाएको छ।

अर्कोतर्फ समूह ‘बी’मा हङकङ र यूएईले बिस्फोटक प्रदर्शन गरिरहेका छन्। समान ४ अंक जोडेर हङकङ र यूएई शीर्ष २ मा छन्। बहराइन र कुवेतले २ अंक जोडेर उनीहरुलाई पछ्याइरहेका छन् भने अंकविहीन सिंगापुर तालिकाको पुछारमा छ।

यस्तोमा सेमिफाइनल पुग्ने दाबेदारमा समूह ‘ए’मा नेपाल र ओमनको र समूह ‘बी’मा हङकङ र यूएई बलियो देखिएको छ। समूह चरणमा स्वभाविक नतिजा आइरहे पनि सेमिफाइनल भने महत्वपूर्ण हुनेछ।

चार टोलीबिच फाइनलका लागि ‘टफ’ प्रतिस्पर्धा हुने निश्चित छ। एसोसिएट राष्ट्रबाट टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्न कुन टोली आतुर हुँदैन र?

नेपालको लयको निरन्तरता

प्रिमियर कपमा पनि नेपालले लिग टू मा बनाएको लयलाई निरन्तरता दिइरहेको छ। ब्याटिङमा सँधै फितलो रहने नेपालले कीर्तिमानी ठूलो स्कोर यसै प्रतियोगितामा बनाएको छ।

पहिलो खेलमा मलेसियालाई हराएको नेपालले एकदिवसीय मान्यता प्राप्त दोस्रो खेलमा दुवै ओपनर शून्य रनमै गुमाएर पनि ३१० रनको ऐतिहासिक स्कोर बनाउन सफल भयो। पचासौँ एकदिवसीय खेल नेपालले खेल्दै गर्दा सन्दीप लामिछानेले सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाए।

प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराएपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले भनेका थिए : जहाँ सकेका थियौँ, त्यहीँबाट सुरु गर्‍यौँ।

उनले भनेजस्तै समूहको बलियो प्रतिस्पर्धी ओमनलाई नेपालले दोस्रो खेलमा हराउन सफल भयो। र, सेमिफाइनलमा समीकरण बलियो बनाउँदै लगेको छ।

एकदिवसीय खेलको कुरा गर्दा नेपालले पछिल्ला १३ खेलमा १२ वटा जित निकालेको छ। प्रशिक्षण मोन्टी देशाईले सम्हालेयता नेपालले हात पारेको उपलब्धि हो यो। उसो त, टिममा नियमित पहिलो रोजाइमा खेल्दै आएका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र करण केसी भने सुरुवाती ११ मा नियमित परिरहेका छैनन्।

‘करण दाइ र ज्ञानु दाइले राम्रोसँग बुझिरहनु भएको छ आफ्नो भूमिकालाई। आफै गएरभन्दा ज्ञानु दाइले टिमका लागि राम्रो स्क्वाड खेलाउँ भन्दा सपोर्ट गरिरहनु भएको छ,’ कप्तान पौडेलले भने।

अर्का अनुभवी करण केसी टिममा सकारात्मक माहोल रहेको बताउँछन्।

‘चान्स पाउँदा खुशी लाग्छ। मोन्टी सरले भूमिका दिनुभएको छ। टिममा कसरी र को फिट हुन्छ भन्ने उहाँको रणनीति हो। टिम पोजेटिभ छ। नेगेटिभ कोही छैन,’ ओमनविरुद्धको खेलमा टिममा पुनरागमन गरेका करण केसीले भने।

तर पछिल्लो समय राष्ट्रिय टोलीमा जमेका भीम सार्की, कुशल मल्लजस्ता ब्याट्सम्यान टोलीमा जमेका छन्। सन्दीप लामिछानेले लयलाई निरन्तरता दिँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामीलगायतको अलराउन्डर प्रदर्शन राम्रो छ।

प्रशिक्षक देशाइले भविष्य (एसिया कप) सोचेर खेल्न प्रोत्साहित गरिरहेको सोमपाल कामी बताउँछन्।

‘ठूलो अवसर हो। पहिला एसिया कपमा हङकङ यूएई खेलिसकेका छन्। हामीलाई पनि अवसर हुनेछ। हामीलाई फ्युचर सोच भनिरहनु भएको छ। पछि कसरी भारतसँग बलिङ ब्याटिङ गर्छौँ भन्नु हुन्छ। अहिलेलाई सजिलो छ,’ उनले भने।

खेलका हिसाबले देशाइ आएपछि परिवर्तन के भयो त?

‘आफ्नो भूमिकामा धेरै काम गरेको छु। कोचले धेरै 'बेसिक्स'मा काम गराउनु भएको थियो। धेरै नयाँ सर्ट सिकियो पनि पुराना सट छाडियो पनि’, सोमपाल भन्छन्, ‘फरक क्रिकेट खेलिरहेका छौँ। उच्च स्तरका खेलिरहेका छौँ। त्यसैले आफ्नो टेक्निकमा धेरै काम गरिरहेको छौँ।’

नेपालको पछिल्लो समयको सबैभन्दा ठूलो चुनौती एकदिवसीय मान्यता जोगाउनेमा सफल भएको उल्लेख गर्दै अब एसिया कप र विश्वकप छनोट हुने लक्ष्यमा काम गरिरहेको सोमपाल बताउँछन्।

‘एसिया कप महत्वपूर्ण छ। एकदिवसीय मान्यता जोगाउनु हाम्रो लागि महत्वपूर्ण थियो। अर्को, एसिया कपमा छनोट हुने र विश्वकप छनोटमा राम्रो हुने गर्ने हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell