काठमाडौँ: एसीसी प्रिमियर कपमा सोमवार नेपालले साउद अरबसँग प्रतिस्पर्धा गर्दैछ। मुलपानी क्रिकेट मैदानमा हुने खेलमा ९ बजे नेपाल र साउदी प्रतिस्पर्धा गर्ने खेल तालिका छ।
समूह 'ए' मा दुई खेल खेलेर दुबैमा जित निकालेको नेपाल ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। समान २ खेलबाट १ जित निकालेको साउदी २ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। साउदी विरुद्धको खेलमा जित निकाल्न सके नेपाल सेमिफाइनलमा पुग्नेछ।
तर, आइतवारबाट काठमाडौँमा वर्षाको माहोल र छिटपुट वर्षा भइरहँदा नेपाल र साउदीबीचको खेल हुनेमा अन्योल भने रहनेछ।
जल तथा मौसम विज्ञान विभागले सोमवार क्षणिक तथा हल्का वर्षाको पूर्वानुमान गरेको छ।
'देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।' विभागले सोमवार बिहान अपडेट गरेको पूर्वानुमानमा भनिएको छ।
सोममवार नै कीर्तिपुरमा हुने अर्को खेलमा बहराइन र हङकङ आमनेसामने हुनेछन्।
एसीसी प्रिमियर कपमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’मा यूएई हङकङ, कुवेत, सिंगापुर र बहराइन् छन्।
सेमिफाइनलको खेल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ। बैशाख १७ गते तेस्रो स्थानका लागि खेल हुनेछ।
प्रिमियर कपको विजेताले सोझै एसिया कपमा स्थान बनाउने छ। यस्तै, शीर्ष तीन टोलीले इमर्जिङ टिम एसिया कपमा स्थान बनाउने छ।
इमर्जिङ टीम एसिया कपमा भारत 'ए', पाकिस्तान 'ए', श्रीलंका 'ए', अफगानिस्तान 'ए' र बंगलादेशको 'ए' टोली हुनेछन्। त्यस्तै, प्रिमियर कपका शीर्ष तीन टोलीले इमर्जिङ एसिया कप खेल्नेछन्।
नेपाली टोली
रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी
रिजर्भ
अर्जुन साउद, सुन्दिप जोरा, सूर्य तामाङ, किशोर महतो