काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत सोमवार नेपाल र साउदी अरेबियाबिचको खेल वर्षाका कारण रद्द भएको छ। ९ बजेबाट खेल सुरु गर्ने तालिका भएपनि आइतवारबाटै सुरु भएको वर्षाले गर्दा आज तय खेलमा टस समेत हुन सकेन। र, दुवै टोलीले १/१ अंक बाँडेका छन्।
योसँगै समूह ‘ए’को शीर्ष स्थानमा रहेको नेपालको एक खेल बाँकी छँदा ५ अंक छ। अर्थात नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। तर समूह विजेता बनेर सेमिफाइल पुग्ने या उपविजेता बनेर भन्ने चाहिँ समूह चरणको अन्तिम खेलले निर्धारण गर्नेछ। नेपालले कतारलाई हराएको खण्डमा नेपाल समूह विजेता भएर सेमिफाइनल पुग्नेछ भने अन्य नतिजा आएको खण्डमा ओमन र साउदी अरबबिचको खेलको नतिजाले समीकरण निर्धारण गर्नेछ।
समूह ‘ए’को शीर्षस्थानमा ५ अंक जोडेको नेपाल रहँदा दोस्रो स्थानमा ४ अंक जोडेको ओमन तथा तेस्रो स्थानमा ३ अंक जोडेको साउदी अरब छ। त्यस्तै चौथो स्थानमा २ अंक जोडेको मलेसिया रहँदा पाँचौँ स्थानमा अंकविहीन कतार छन्। शीर्ष दुईको होडमा नेपाल, ओमन र साउदी अरब कायम रहँदा मलेसिया र कतार एक खेल अगावै सेमिफाइनलको होडबाट बाहिरिसकेका छन्।
त्यस्तै, समूह ‘बी’को कीर्तिपुरमा हुने तालिका रहेको हङकङ र बहराइनबीचको खेल पनि वर्षाकै कारण रद्ध भएको छ। समूह ‘बी’मा हङकङ ५ अंक जोडेर शीर्षस्थानमा रहँदा ४ अंक जोडेको यूएई दोस्रो, ३ अंक जोडेको बहराइन तेस्रो, २ अंक जोडेको कुवेत तेस्रो तथा अंकविहीन सिंगापुर तालिकाको पुछारमा छन्।