PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ठूलो आवाजसहित आधा घण्टा काठमाडौंको आकाशमा घुमेको फ्लाई दुबईको जहाजमा के थियो समस्या?



वसन्तराज उप्रेती

ठूलो आवाजसहित आधा घण्टा काठमाडौंको आकाशमा घुमेको फ्लाई दुबईको जहाजमा के थियो समस्या?

काठमाडौंः आधा घण्टासम्म ठूलो आवाज आएर काठमाडौंको आकाशमा घुमेको फ्लाई दुबईको जहाजको इन्जिनमा एयर फ्लो (कम्प्रेसर स्टल) का कारण ठूलो आवाज आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

पाइलटले एटीसीसँग कम्प्रेसर स्टल भएको र समस्या समाधान भएको जानकारी गराएको थियो। ‘यस्तै घटना पहिला गल्फ एयरमा पनि आएको थियो। पाइलटकै नियन्त्रणमा रिकभरी हुने समस्या हो। जहाजको इन्जिनमा एयर फ्लो राम्रोसँग नहुँदा यस्तो समस्या आउने हो। यसलाई इन्जिन सर्ज पनि भनिन्छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने।

ती अधिकारीका अनुसार इन्जिन फेल भएको भने होइन।

‘जहाज उड्नेबित्तिकै समस्या आएपछि काठमाडौंको आकाशमा एक फन्को लगाएर धार्के पुग्यो। त्यसपछि पाइलटले जहाज होल्ड गरे,’ ती अधिकारीले भने, ‘त्यसपछि पाइलटले समस्या समाधान भएको जानकारी दिएर चेकलिष्ट अनुसार आफ्नो गन्तब्यतर्फ गएको हो।’

आकाशमा आगोको मुस्लोसहित जहाज देखिएको बारे ती अधिकारीले भने, ‘एयर फ्लोको मिसम्याचले इन्जिनमा आगोको झिल्को देखिएको हो। तर त्यो आफैं समस्या समाधान भएर गयो।’

 नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जहाजमा समस्या देखिए पनि पाइलटले नै समाधान गरेर गन्तब्यतर्फ गएको बताए।

फ्लाई दुबईको जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दमकल, फम र उद्वारकर्मीलाई तैनाथ राखेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell