PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

मध्यरातसम्म त्रसित गराएको फ्लाइ दुबईको सहज ल्यान्डिङ, 'चरा ठोक्किँदा निस्कियो आवाज र आगो' !



पहिलोपोस्ट

मध्यरातसम्म त्रसित गराएको फ्लाइ दुबईको सहज ल्यान्डिङ, 'चरा ठोक्किँदा निस्कियो आवाज र आगो' !

काठमाडौं : गए राति उडिरहेको विमानबाट निस्केको आवाज र देखिएको आगोले काठमाडौं त्रसित बन्यो। धेरैले डरलाग्दो दुर्घटना नजिकिँदै गरेको अनुभूति गरे। सोसल मिडियामा विमानको हो कि होइन भनेजस्तो दृश्य पनि फैलियो। सबैले कामना गरे – विमान सकुशल उत्रियोस्। यात्रुहरु सकुशल रहुन्।

विमानलाई ‘लाइभ ट्र्याक’ गर्ने वेबसाइट ‘फ्लाइट राडर २४’मा पनि उत्तिकै झुम्मिए मानिसहरु। विमानले काठमाडौं ल्यान्ड गर्न प्रयास पनि गरेको देखियो। केही बेर काठमाडौंको फन्का लगाएपछि विमान पश्चिम नेपाल हुँदै भारत तिर लाग्यो। त्यतिखेर विमान आफ्नो सेड्युल अनुसार नै अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दियो। आत्तिएका मानिसहरुमा केही सन्तोष त मिल्य तर संशय कायमै थियो।

सकुशल उत्रियो विमान

काठमाडौं एयरपोर्टबाट उडेलगत्तै समस्यामा परेको विमान गन्तव्यमा भने सहजै पुगेको छ। काठमाडौंमा देखिएको दृश्यले सबैको ध्यान खिचिसकेको थियो। फ्लाइ दुबईको एफजेड ५७६ विमान निर्धारित समयमा नै दुबई विमानस्थलमा उत्रिएको गल्फन्युजले जनाएको छ। स्थानीय समयअनुसार १२ बजेर ११ मिनेट जाँदा विमान ल्यान्ड भएको हो।

‘विमान दुबईमा सामान्य रुपमा ल्यान्ड भएको छ। विमानमा थप परीक्षण हुनेछ,’ फ्लाइ दुबईले वक्तव्य जारी गर्दै भनेको छ, ‘हाम्रा अनुभवी चालक दलले इन्जिनका प्यारामिटरहरु सबै सहि अवस्थामा रहेको पहिचान गरिसकेपछि सकुशल यात्रा पूरा गराएका छन्। यात्रु र चालक दलको सुरक्षा हाम्रो शीर्ष प्राथमिकतामा छ।’

 

ठोक्कियो चार, निस्कियो आवाज

फ्लाइ दुबईका प्रवक्तालाई उदृत गर्दै दुबई मिडियाले एउटा ट्विट गरेको छ जसमा काठमाडौंको आकाशमा जे भयो त्यसको कारण चरा रहेको जनाएको छ। काठमाडौंबाट टेक अफ गरेलगत्तै चरा ठोक्किँदा असहज परिस्थिति बनेको दावी प्रवक्ताले गरेका छन्।

काठमाडौंको आकाशमा विमानमा आगो देखिएको भए पनि केही समयपछि देखिन छाडेको थियो। सम्भावित दुर्घटनाका लागि काठमाडौंमा सबै अलर्ट भइसकेका थिए। तर केही समयको तनावपूर्ण अवस्था चिर्दै विमान पश्चिम नेपालको बाँकेबाट भारत हुँदै दुबईको रुटतिर लाग्यो।

 

सुरुमा आत्तिएका पाइलटले पछि भने – समस्या छैन

काठमाडौं उपत्यकाका मानिस मात्र आत्तिएका थिएनन्, चालक दलले त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरणका लागि अनुमति लिइसकेका थिए। विमानबाट आवाज आएको र आगो देखिएपछि तत्काल अवतरणको प्रयास भएको थियो। तर केही समयपछि नै पाइलटले इन्जिनमा कुनै समस्या नरहेको जनाउ दिँदै दुबईतिर जाने जानकारी गराएका थिए। नागरिक उड्ययन प्रधिकरणले पनि त्यसैअनुसार जानकारी प्रवाह गर्‍यो। मध्यरातसम्म मानिसहरु विमानलाई ट्र्याक गरिरहेका थिए।

‘जहाज उड्नेबित्तिकै समस्या आएपछि काठमाडौंको आकाशमा एक फन्को लगाएर धार्के पुग्यो। त्यसपछि पाइलटले जहाज होल्ड गरे,’ नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले भने, ‘त्यसपछि पाइलटले समस्या समाधान भएको जानकारी दिए। अनि गन्तब्यतर्फ गएको हो।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जहाजमा समस्या देखिए पनि पाइलटले नै समाधान गरेर गन्तब्यतर्फ गएको बताए।

फ्लाई दुबईको जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दमकल, फम र उद्धारकर्मीलाई तैनाथ राखेको थियो।

यद्यपि, राति त्यतिमाथि विमानमा ठोक्किने गरी कुन चरा उड्यो भन्ने चाहिँ अनुत्तरित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell