काठमाडौं : प्रतिनिधिसभाका रिक्त तीन सिट भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्रले तनहुँ १ मा जित निकाल्दै विजयी सुरुवात गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले ठूलो मतान्तरसहित जनताबाट अनुमोदित भएका हुन्। निर्वाचित भएका छन्। वाग्लेले ३४ हजार ९१९ मत पाए।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मतमात्र पाए भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८४८८ मत पाए।
गत निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३६१ मतका साथ निर्वाचित भएका थिए। एमालेका एकबहादुर रानाले १९हजार ९८१ मत पाउँदा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए। रास्वपाका विकास सिग्देलले त्यतिबेला ६ हजार मत कटाएका थिए। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो। वाग्ले भने यसपटक पौडेलभन्दा धेरै मत ल्याएर निर्वाचित भएका छन्।