काठमाडौं : केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले ‘काँडेतार’ को प्रर्दशनमा रोक लगाएको छ। सेन्सर पास नहुँदा फिल्मको प्रदर्शन अनिश्चित भएको छ।
चलचित्रका केही संवाद र दृश्यहरूमा आपत्ति जनाउँदै समितिले प्रदर्शनमा रोक लगाएको हो। फिल्म नेपाल- भारत सीमामा हुने गतिविधिलाई लिएर केन्द्रीत छ। जसकारण केही त्रुटि भएका दृश्यहरु हटाउन समितिले फिल्म निर्माण पक्षलाई भनेको छ।
केन्द्रिय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्ममा केही त्रुटि भएकै कारण सेन्सर पास नगरेको बताए। उनले भने,‘हामीले उहाँहरुलाई फिल्ममा भएका मिसटेकलाई सुधार गरेर ल्याउनु भनेका छौं। उहाँहरुले फिल्ममा करेक्सन गरेपछि सेन्सर पास हुन्छ। किनकी फिल्ममा दुई देशको कुरा छ।’
फिल्मका कलाकार र निर्देशक नवल खड्काले भने कुनै दृश्य नकाटी फिल्म पास हुनुपर्ने बताए।
‘फिल्म सेन्सरको लागि सोमवार सेन्सर बोर्ड गएका थियौं। तर, उहाँहरुले चलचित्रका संवाद र दृश्यहरुमा आपत्ति जनाउँदै थप छलफल गर्नुपर्छ भनि सेन्सर पास गर्नुभएन। मैले कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न अनुरोध गरेपनि मान्नुभएन,’ खड्काले भने।
सेन्सर पास नभएमा न्यायको लागि अदालत जाने समेत खड्काले बताए।
सामना फिल्मस् प्रालिद्वारा निर्मित यो फिल्म खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ। फिल्ममा शिवन अधिकारी र नवल खड्काको लेखन रहेको छ।