काठमाडौं : तनहुँ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विजयी हासिल गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले धन्यवाद यात्रामा निस्किएका छन्। विजयी भएपछि वाग्लेले धन्यवाद यात्राबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
विजयी भएपछि उनी मंगलवार बिहानैदेखि विजय यात्रामा निस्किएका छन्। तनहुँ १ का मतदातालाई धन्यवाद दिँदै वाग्लेले आफू र आफ्नो पार्टीप्रति देखाएको स्नेह, विश्वास र भरोसा प्रति आफू ऋणी हुने बताए।
‘देशका सम्पूर्ण सचेत नागरिकहरू जसले प्रत्यक्ष अप्रत्यक्षरूपमा आ-आफ्नो स्थानबाट गर्नु भएको सहयोग र प्रेरणाका लागि धन्यवाद। विदेशमा रहनुभएका सम्पूर्ण देशप्रेमी जनसमुदायहरू जस्ले आफ्नो मातृभूमिको विकाशका लागि आशा सञ्चार प्रवाह गर्ने विश्वासका साथ मलाई देखाउनु भएको सद्भाव र सहयोगप्रति धन्यवाद,’ उनले भने।
वाग्ले ३४ हजार ९१९ मत पाएर विजयी भएका हुन्। सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मतमात्र पाए भने नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाए।