काठमाडौं : रौतहट प्रहरीले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा माधव नारायण नगरपालिका-६ माधोपुर बस्ने २३ वर्षीय दीपेश भन्ने मन्त्रीबाबु राय र राजदेवी नगरपालिका-६ मोहनपुर बस्ने २१ वर्षीय राजा भन्ने राजाबाबु पटेल रहेका छन्। मन्त्रीबाबु रायले परोहा नगरपालिका-३ तेजापाकड बस्ने ३० वर्षीय पुरूषलाई गत शनिवार आफ्नो घरमा बोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरामा रहेको रक्सी भट्टी पसलमा लगेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
त्यसपछि पसलमा ८/९ जनाको अज्ञात व्यक्तिहरुले ती पुरूषलाई अपहरण गरी बन्धक बनाई पेस्तोल देखाई कुटपिट गर्नुका साथै फिरौती वापत चार लाख रुपैयाँ माग गरेको भन्दै प्रहरीमा सुचना आएको थियो। आइतवार बिहान पीडितलाई सर्लाहीको बलरा भन्ने स्थानबाट भारततर्फ लैजान लागेको अवस्थामा फेला पारी अपहरणकारीमध्ये राजाबाबु पटेल र मन्त्रीबाबु रायलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूविरुद्ध अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।