PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

एक्युरेसीमा 'धोनी रिभ्यू सिस्टम' अब्बल: अन्तिम सिजनको आईपीएल खेलेर के 'माही' सुटुक्क हराउनेछन्?



पहिलोपोस्ट

एक्युरेसीमा 'धोनी रिभ्यू सिस्टम' अब्बल: अन्तिम सिजनको आईपीएल खेलेर के 'माही' सुटुक्क हराउनेछन्?
Photo: ANI

इण्डियन प्रिमियर लिग (आईपीएल)मा जारी सिजनमा सबैभन्दा ठूलो स्कोर बनाउने टोली हो : चेन्नइ सुपरकिंग्स। आइतवार कोलकत्तास्थित इडन गार्डेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली कोलकत्ता नाइट राइडर्सविरुद्ध चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको थियो।

७ खेलबाट १० अंक जोडेको चेन्नइ जारी सिजन अंकतालिकाको शीर्षस्थानमा छ।

कोलकत्ताको खेलपछि सानदार प्रदर्शन गरेका अजिन्क्य रहाणेसँगसँगै महेन्द्रसिंह धोनीको चर्चा पनि उत्तिकै चुलिएको छ। धोनीका बारे डीआरएस (डिसिजन रिभ्यू सिस्टम) लाई लिएर चर्चा चुलिएको हो। चेन्नइका कप्तान धोनीलाई कप्तानका रुपमा 'क्याप्टेन कुल' का रुपमा चिनिन्छ। साथसाथै उनको निर्णयहरुलाई पनि सम्मानका रुपमा हेरिन्छ।

इडन गार्डेन्समा सम्पन्न खेलमा धोनीले दुईवटा 'रिभ्यू' लिएका थिए जसमध्ये दुबैमा उनी सही प्रमाणित भए। पहिलोपटक 'फूल टस' बललाई अम्पायरले वाइड या नो-बल दिएनन्। धोनीले अम्पायरको निर्णयमा असन्तुष्टी जनाउँदै तुरुन्त 'रिभ्यू'का लागि अपिल गरे।

थर्ड अम्पायरले स्कृनमा हेरेपछि थाहा भयो त्यो नो-बल थियो। र, अम्पायरले आफ्नो निर्णय परिवर्तन गरे।

त्यस्तै, कोलकत्ताको ब्याटिङ चलिरहँदा चेन्नइका तुषारदेश पाण्डे बलिङ गरिरहेका थिए। उनको बल ब्याट्सम्यान डेभिड विजेको खुट्टामा लाग्यो। देशपाण्डे र धोनीले पनि एलबीडब्लुको अपिल गरे पनि अम्पायरले आउट दिएनन्। धोनीले तुरुन्त 'रिभ्यू' अपिल गरे। टीभी रिभ्यूमा धोनीको अपिल नै सही सावित भयो।

क्रिकेट विश्लेषकहरु कुनै संकोच नराखी 'डीआरएस'को माग राख्ने धोनी ९५ प्रतिशतसम्म सही हुने बताउँछन्। धोनीको 'रिभ्यू'को आँकडा अनुसार उनले 'रिभ्यू'को माग गरेको समयमा ८५ प्रतिशत बढी समयमा अम्पायरले आफ्नो निर्णय परिवर्तन गर्नुपरेको देखिन्छ। त्यसैले 'डिसिजन रिभ्यू सिस्टस'लाई धोनी रिभ्यू सिस्टम (डीआरएस) सामाजिक सञ्जालमा ट्रेन्डिङ गर्न थाल्यो।

सामाजिक सञ्जालमा पनि 'डीआरएस' चर्चामा आयो। स्वाती नामकी एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छिन् : माही यदी नो बल भन्छन् भने त्यो नो-बल हो। उनले हरेक पटक 'धोनी रिभ्यू सिस्टम'बाट अम्पायरलाई गलत साबित गर्छन्।

शैलेन्द्र त्रिपाठी लेख्छन् : यसमा कुनै शंका छैन। धोनीले फेरि एकपटक प्रमाणीत गरिदिएका छन्, डीआरएसलाई किन 'धोनी रिभ्यू सिस्टम' भनिन्छ।

अन्तिम आईपीएल?

धोनी ४२ वर्षका हुन लागेका छन्। उनको कप्तानीमा भारतीय क्रिकेट टोलीले राम्रो उचाइ लिन सफल भएको थियो। हाल उनले सबै फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि आईपीएलमा भने चेन्नइ सुपरकिंग्सबाट निरन्तर खेलिरहेका छन्। आईपीएलको १६ औँ सिजन उनले खेलिरहँदा सायद यो अन्तिम सिजन हुने चर्चा पनि उत्तिकै छ।

इडन गार्डेनमा सम्पन्न खेलमा समर्थकहरु धोनीको जर्सी लगाएर पुगेका थिए। सायद उनीहरु धोनीको विदाइ गर्न चाहन्थे।

धोनी पहिल्यै होहल्ला गरेर निर्णय लिने खेलाडीमध्येमा पर्दैनन्। सन् २०१४ मा टेस्ट क्रिकेटबाट संन्यास लिन निर्णय एक्कासी आएको थियो। ठ्याक्कै यसरी नै एकदिवसीय क्रिकेटलाई पनि उनले हात हल्लाए। उनको 'ट्रेन्ड' हेर्दा उनी कसैलाई बताउन चाहँदैन, कहिलेबाट उनी खेल छाड्नेछन्।

यो त उनको कुरा भयो। तर, समर्थकले उनको कुरा मान्नै पर्छ भन्ने छ? त्यसैले त इडन गार्डेनमा उनलाई विदाइ गर्न समर्थकहरु पहेँलो जर्सीमा आए। जबकी घरेलु टोलीको जर्सीमा आउने समर्थकको संख्या सानो थियो। मैदानमा त गुञ्जिने नै भयो: धोनी, धोनी।

धोनीले स्पष्टरुपमा केही भन्न आनाकानी गरिरहे पनि समर्थक,ब्रोडकास्टर तथा विश्लेषकहरुले मानिरहेका छन्: धोनीको अन्तिम आईपीएल सिजन सायद यही हो।

यति भएपछि 'पोस्टम्याच'मा धोनीले केही बोल्नै पर्‍यो।

'म समर्थनका लागि समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु। उनीहरु ठूलो संख्यामा यहाँ आए। यसमध्ये अधिकांश अर्को खेलमा कोलकत्ताकै जर्सीमा आउनेछन्। उनीहरु मलाई विदाई दिने कोसिसमा छन्। सबैलाई धन्यवाद।'

यसरी भाषामा खेल्दै धोनीले विदाई दिन आएको भन्दा पनि विदाइ दिने कोसिस गरेको भनेका छन्। अर्थात उनले यो सम्भावनालाई पूर्ण रुपमा अस्वीकार पनि गरेका छैनन्।

कोचदेखि अनुभवी खेलाडी र युवा खेलाडी हर कोही धोनीको कुरा तल्लीन भएर उनको एकएक शब्द सुनिरहेका देखिन्छन्। यस्तो लाग्छ धोनीले आईपीएल छाडेपछि एकदम गायब नै हुनेछन्। त्यसै पनि धोनीको कथा अरु खेलाडीको भन्दा फरक छ। अन्तरार्ष्ट्रिय क्रिकेट छाडेपछि क्रिकेटर कमेन्ट्रीबक्समा या कुनै कोचिङमा भेटिन्छन्। तर, धोनी एकाएक आईपीएलबाहे अन्य 'सिन' मा कतै देखिँदैनन्।

संन्यास लिए धोनी कता हराउलान्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell