PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

‘ओ पेङ्दोर्जे' र ‘मुसुक्क म’ ल्याउँदै नेपालय



पहिलोपोस्ट

‘ओ पेङ्दोर्जे' र ‘मुसुक्क म’ ल्याउँदै नेपालय

काठमाडौं : पब्लिकेशन नेपालयले दुई साहित्यिक कृति एकैसाथ ल्याउने भएको छ। कविता र लघुकथा एकएक कृति ल्याउन लागेको हो।

केही दिनमै कविता संग्रह ‘ओ पेङ्दोर्जे’ सार्वजनिक गर्ने तयारीमा छ नेपालय। कवि राजु स्याङ्तानका कविता संग्रहमा ५१ वटा कविता छन् भने तिनलाई ६ वटा फरक खण्डमा समावेश गरिएको छ।

स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा जोडिँदै आएका छन्। सीमान्तकृत समुदाय, भूमिहरण सम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङमा दख्खल राख्‍ने उनको यो पहिलो कविता संग्रह हो।

लेखक मञ्जुश्री थापाका अनुसार राजुमा काब्य रचनाको असाधारण प्रतिभा छ।

‘उनका शब्दहरुमा बहुसङ्ख्यक उपेक्षितको आवाज गुञ्जिन्छ,’ मञ्जुश्रीलाई उदृत गर्दै नेपालयले जनाएको छ, ‘यो कविता संग्रह हाम्रो युगकै चेतनाको वाचाल अभिव्यक्तिका रुपमा आएको छ।’

महोत्तरीको खयरमाराबाट अवसरको खोजीगर्दै राजधानी आएका राजुले १ सय ५१ पृष्ठको पहिलो कृतिमै समकालीन नेपालका अत्यन्त कष्टकर क्षणहरुलाई अक्षरले उभ्याउन सफल भएको नेपालयको दावी छ।

पुस्तकलाई नेपालयले एकसाथ छापा र इ-बुकमात्र नभइ ‘अडियो बुक'का रुपमा समेत सार्वजनिक गर्ने तयारी गरेको छ। ‘अडियो बुक’मा स्वयं कवि, गायक तथा संगीतकार आभाषको धुन रहने छ।

‘ओ पेङ्दोर्जे’ कविता संग्रहलाई विमोचन लगत्तै विश्वभरिका पाठकहरुले अमेजनबाट पनि खरिद गर्नसक्ने ब्यवस्था मिलाइसकिएको नेपालयले जनाएको छ।

यसैगरि अर्को पुस्तक हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’ हो।

नेपाली संगीतको फाँटमा जानकारी राख्नेहरुका लागि हिरण्य भोजपुरे परिचित नाम हो। साढे पाँच दशकअघि नेपालमा केही तन्नेरीहरु मिलेर सांगीतिक समूह ‘लेकाली’ जन्माएका थिए। भोजपुरस्थित ट्याम्के डाँडाको ओतमा जन्मेका तन्नेरीहरुको योगदानले आजसम्म पनि नेपाली संगीतलाई प्रभाव पारिरहेकै छ। तिनैमध्येका संस्थापक हुन् हिरण्य भोजपुरे।

२०२२ सालमा ‘छहराको गीत’लेखेर गीतकारका रुपमा परिचय बनाएका भोजपुरेले त्यसयता गायकबाहेक कवि, गीतकार, कथाकार, उपन्यासकार जस्ता सिर्जनाकै विविध क्षेत्रबाटै आफुलाई चिनाउँदै आएका छन्। साहित्य र संगीतमा यसरी समानान्तर ढंगले क्रियाशील सर्जक भोजपुरेले लघुकथामार्फत आफुलाई प्रस्तुत गरेका छन्।

नेपालयका अनुसार यस पुस्तकमा सय भन्दा धेरै लघुकथा संग्रहित छन्। यसको विशेषता अधिकांश कथाहरु एउटै पानामा अटाएका छन्। एकै बसाइमै पढ्न सकिने पुस्तक भोजपुरे स्वयंको व्यक्तित्वजस्तै रसिलो अनि स्वादिलो रहेको नेपालयको दावी छ।

छ वर्षयता सिर्जना गरिएका लघुकथामध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखिएका हुन्। त्योबेला बढी समय आफूले अमेरिकामा बिताएकाले त्यहाँ बस्ने नेपाली भोगाइका प्रतिनिधि कथाहरु पनि पुस्तकमा समेटिन पुगेको छ।

लघुकथा संग्रह ‘मुसुक्क म’ पनि एकैसाथ भौतिक पुस्तक, इ-बुक र अडियो बुकका रुपमा आउने नेपालयले जनाएको छ। यो पुस्तक पनि अमेजनबाट किन्न सकिनेछ।

पछिल्लो समय ‘हिति प्रणाली’ र ‘७२ सालको भूकम्प’लगायतका केहि अनुसन्धनात्मक कृति प्रस्तुत गरेको थियो नेपालयले। वर्षको सुरुवातमा नै गैर आख्यानबाट आख्यानतर्फका प्रकाशनलाई नेपालयले अगाडि बढाउन थालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell