काठमाडौं : प्रतिनिधिसभाबाट ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ बहुमतले स्वीकृत भएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट मन्त्री शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताइन्। राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि सांसदले राखेको जिज्ञासामा उनले देशले गरेको प्रतिबद्धता र नयाँ शासकीयस्वरुपलाई दृष्टिगत त्यसलाई सम्बोधन गर्न नयाँ विधेयक ल्याइएको बताइन्।
उनले भनिन्, 'भ्रष्टाचार रोक्न कानुन मात्रै होइन, समाजका सबै अवयव सक्रिय हुनुपर्छ। कानुनका छिद्रलाई देखाएर भ्रष्टाचार गर्ने ठाउँ दिनुहुन्न। भ्रष्टाचार रोग भएकाले अन्त्य गर्न सबैले साझा प्रयास र सङ्कल्प गर्नुपर्छ।'
भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्धता र सामूहिक अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो। विसं २०७६ मा अघि बढेको सो विधेयक लामो समयपछि प्रतिनिधिसभामा आइपुगेको हो।
बैठकमा सभामुख देवराज घिमिरेले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले ७२ घन्टाभित्र विधेयक शाखामा गएर संशोधन प्रस्तुत गर्नसक्ने बताएका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १३ गते अपराह्न ३ बजे बस्नेछ।