PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुला



रमेश पराजुली

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुला
फाइल फोटो

बुटवल : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानसभा धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेका हुन्।

योसँगै नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ। सोमवार विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धन दुबैले सरकारमा दावी गरेपछि प्रदेश प्रमुख शेरचनले कानुनी परामर्श पछिमात्र निर्णय दिने बताएका थिए।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई भन्दा बढी दलहरुको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठनको लागि २०८० वैशाख १४ गते बिहिबार ४ बजे भित्र दाबी पेश गर्न आह्वान गरिएको छ।

यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले कांग्रेस कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन पेश गरिसकेका छन्। एमालेले मुख्यमन्त्रीले राजीनामा नदिएकाले ठूलो दलको हैसियतमा १६८(३) अनुसार सरकार गठन हुनुपर्ने जिकिर गर्दै आएको थियो।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन्।

गठबन्धनमा फेरबदल नआएमा कांग्रेस–माओवादी सहितको गठबन्धनबाट  चौधरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ। किनकी एमाले र राप्रपाको ३३ मत मात्र छ। बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell