PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सामुदायिक विद्यालय कसरी सुधार्ने? धुस्कुनमा आयोजित कार्यशालामा जुटे शिक्षक - व्यवस्थापन समिति



पहिलोपोस्ट

सामुदायिक विद्यालय कसरी सुधार्ने? धुस्कुनमा आयोजित कार्यशालामा जुटे शिक्षक - व्यवस्थापन समिति

धुस्कुन : सामुदायिक विद्यालय सुधार्न के गर्नुपर्ला? सामुदायिक शिक्षाका सरोकारवालाले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी - ३ धुस्कुनस्थित मेहन्द्र प्रताव माविमा यसबारे बहस गरेका छन्। धुस्कुन र चोकटीमा रहेका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक-शिक्षिका लक्षित कार्याशालामा यसबारे बहस भएको हो।

महेन्द्रप्रताप मावि र वडा शिक्षा समितिको संयुक्त आयोजनामा शनिवार र आइतवार आयोजित कार्यशालामा प्रा.डा .विद्यानाथ कोइरालाले प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, जनप्रतिनिधि, अभिभावक, विद्यार्थीलगायत सरोकारवालालाइ शैक्षिक सुधारका विषयमा प्रशिक्षण दिएका थिए। कोइरालाले शैक्षिक गन्तब्य, सुधारका निम्ति गरिनुपर्ने उपाय र प्रयत्न, संवैधानिक तथा ऐन, कानुनका प्रावधान, पाठ्यक्रम, शिक्षकका काम, कर्तव्य, अधिकार र आचारसंहिता, स्थानीय तहको कर्तव्य र अधिकारलगायत समग्र विषयमासमेत जानकारी दिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले स्थानीय सरकारले साधन र श्रोतले भ्याएसम्म सामुदायिक विद्यालय र शैक्षिक सुधारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिनाले राज्य शिक्षाकाप्रतिको आफ्नो दायित्व निर्वाह गर्न चुकेको औल्याउँदै सिकाइको संकट हटाउन र सिकाइ उपलब्धि हासिल गराउँदै समाजको प्रतिविम्बको रुपमा स्थापित शिक्षकहरुले कक्षाकोठाभित्र पूर्ण रुपमा आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने बताए। सन्तुष्ट शिक्षकले मात्र गुणस्तर प्रदान गर्न सक्ने उल्लेख गर्दै तिमल्सिनाले शिक्षकका विद्यमान समस्या समाधान गरिनुपर्ने पनि बताए।

कार्यक्रम सहजीकरणको निम्ति शिक्षाका लागि राष्ट्रिय अभियानका महासचिव सुदर्शन सिग्देल, नेविसंघका निवर्तमान महामन्त्री तिमल्सिना, वरिष्ठ समाजसेवी बीरबहादुर भण्डारीलगायत सबैलाई कार्यक्रम व्यवस्थापनका तर्फबाट धन्यवाद व्यक्त गर्दै महेन्द्र प्रताप मा.विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव भण्डारीले सामुदायिक विद्यालय सुधार गर्न सकेमात्र वास्तविक समाज परिवर्तन सम्भव हुने बताए। उनले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन, जनप्रतिनिधि र विद्यार्थीको सामुहिक पहलमार्फत शिक्षामा देखिएको बिकृती, विसंगती र व्यवधानलाई चिर्न सार्थक पहल थालिएको र प्रारम्भमा नै सबैको साथ प्राप्त हुन सकेकोले अभियानले सार्थकता प्राप्त गर्न खोजेको महसुस भएको बताए।

शिक्षाप्रेमी मधाव भण्डारीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएलगत्तै वडा शिक्षा समितिका अध्यक्ष एवं वडाध्यक्ष शिवकुमार कार्कीको सभापतित्त्वमा भएको कार्यक्रममा सहभागीहरुबाट विद्यालय सुधारका निम्ति प्राप्त बुँदागत सुझावलाई वडाभित्रका सामुदायिक विद्यालय सुधार्न प्रभावकारी ढंगले चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने सबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानध्यापकहरुले लिखित रुपमा नै प्रतिबद्धता व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell