PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

‘ब्यारेक’मा वाहवाही, ‘ब्यालेट’मा फ्लप!



सविन ढकाल

‘ब्यारेक’मा वाहवाही, ‘ब्यालेट’मा फ्लप!

काठमाडौं : तीस वर्षे प्रहरी सेवामा सेलिब्रिटी छवी बनाएका दुई प्रहरीको सांसद बन्ने सपनामा तत्कालका लागि ब्रेक लागेको छ - त्यो पनि दुईदुई पटक। रोचक त के भने दुवै एकै ब्याची प्रहरी र प्रहरी प्रमुखको प्रतिस्पर्धी थिए।

पछिल्लो ६ महिनामा दुई पटकसम्म चुनावी मैदानको प्रतिस्पर्धामा सहभागी हुँदा पनि उनीहरू सफल हुन सकेनन्। प्रहरीमा रहँदा पत्याए पनि दुई प्रहरीलाई राजनीतिमा साथ दिन चाहेनन् जनताले। सन्दर्भ हो- पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रहरी नायव महानिरीक्षक रमेश खरेलको।

दुवै निर्वाचनमा टिकट ‘हत्याउन’ सफल भए पनि रिटायर्ड प्रहरी अधिकृतहरु जनमतका हिसाबले पूर्णतः असफल दरिए। प्रतिस्पर्धी समेत बन्ने हैसियत उनीहरुको देखिएन।

खनाल र खरेल दुवैले उपनिर्वाचनमा नमीठो पराजय खेपेका छन्। त्यतिमात्र होइन, उनीहरु आवद्ध दलले अघिल्ला निर्वाचनमा जति मत ल्याएका थिए, त्यति पनि जोगाउन सकेनन्। यसले ब्यारेकका ‘शेर’हरु चुनावी राजनीतिमा भने ‘ढेर’ हुन सक्छन् भन्ने स्थापित गरेको छ।

गत मंसिरमा भएको आम निर्वाचन र बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा दुवै प्रहरी मैदानमा थिए। दुवै फरक निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएका थिए। दुवैको सांसद बन्ने महत्त्वकांक्षा।

प्रहरी सेवामा सँगै छिरेका खरेल र खनालले जति सङ्गठनमा सफलता चुमे राजनीतिको सुरुवाती यात्रा भने दुवैका लागि प्रत्युत्पादक रह्यो। सर्वेन्द्र खनाल प्रहरी सङ्गठनको प्रमुख नै बने। आफूले नपाएको झोकमा खरेलले डीआईजी पदबाट राजीनामा दिएर राजनीतिक दल खोल्नतिर लागे।

खनालले भने सेवाबाट निवृत्त भएको एक वर्ष हुन नपाउँदै राजनीतिमा आए नेकपा (एमाले)सँग जोडिएर। तर, उनको राजनीतिक सुरुवात विवादित बन्यो। सांसद ‘अपहरण’सँग जोडिए खनाल।

दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्व मन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा मुछिएका हुन् सर्वेन्द्र। एमालेका किसान श्रेष्ठ र महेश बस्नेतसँगै अपहरणको खेलमा भर्खरै अवकाश पाएका खनाल मुछिँदा सिंगो प्रहरी प्रशासनको इमेज धमिलो बन्यो। खनाल त्यसपछि त एमालेबाट खुला राजनीतिमा इन्ट्री भए।

गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले काठमाडौं क्षेत्र नम्बर ६ बाट खनाललाई उम्मेदवार बनायो। एमाले, अझ विशेष रुपमा पार्टी अध्यक्ष केपी ओलीले पत्याएका खनाललाई जनताले भने सिधै रिजेक्ट गरिदिए। राजनीतिको डेब्यूमै पराजय फेस गर्नुपर्‍यो उनले।

त्यही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले १४ हजार मत ल्याएर जित निकाले। सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए। धन्न उनले नेपाली कांग्रेसका नेता भीमसेनदाश प्रधानलाई जिते दोस्रो हुने दौडमा।

उपनिर्वाचनअघि तनहुँ १ का उम्मेदवार नेकपा (एमाले) का सर्वेन्द्र खनाल घरदैलो गर्दै। फाइल फोटो : कृष्ण न्यौपाने/रासस


तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै त्यहाँ उपनिर्वाचन भयो। सबैभन्दा ठूलो राजनीतिक संगठन भएको एमालेका तनहुँमा नेता तथा कार्यकर्ता हुँदाहुँदै पनि पूर्व प्रहरी प्रमुख खनालले टिकेट हत्याए।

प्रहरी प्रमुख हुँदा एमाले वा अध्यक्ष केपी शर्मा ओलीलाई विशेष गुण लगाएबापत् हो या सांसद अपहरणमा सक्रिय भूमिका निर्वाह गरेकाले हो, पार्टीले उनलाई नै पत्यायो। एक पटक असफल भइसकेका खनाललाई फेरि टिकट दियो एमालेले। भलै पार्टीमा टिकटको आकांक्षीहरु कैयन थिए।

जन्मका आधारमा तनहुँ खनालको गृह जिल्ला। त्यसैका आधारमा उनी चुनावी अभियानमा होमिए। दोस्रो पटक पाएको मौकामा पनि खनाल सफल हुन सकेनन्। उनले ८ हजार ४ सय ८८ मत ल्याए। पहिलो निर्वाचनमा दोस्रो भएका उनी उप निर्वाचनमा तेस्रो भए।

मंसिरमा भएको निर्वाचनमा कांग्रेसका पौडेलले २५ हजार ३ सय १८ मत ल्याएका थिए। दोस्रोमा एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ४३ मत ल्याए। सर्वेन्द्रले उप निर्वाचनमा आफ्नै पार्टीले पाँच महिना अगाडि पाएको आधामात्र मत पनि ल्याउन सकेनन्। अर्थात् नेता/कार्यकर्ता लत्याउँदै फौजीलाई दिएको टिकटबाट आधाभन्दा धेरै मत गुमायो एमालेले।

स्वर्णिम वाग्लेले जित निकाल्दा कांग्रेस दोस्रो भयो। कांग्रेसको मत गिरावट एमालेभन्दा कम देखियो। खनाल तनहुँको चुनावमा रणनीतिक रुपमा प्रयोग भए वा एमालेले थप शाख गुमायो, त्यो विश्लेषणको अर्को पाटो हुनसक्छ। तर, यति चाहिँ पक्का हो एउटा फौजी चुनावी यात्रामा दोस्रो पटक नमीठोगरी पछारियो।

सर्वेन्द्रभन्दा रमेश खरेलको हालत थप कमजोर देखियो। मुलुकभर दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेभन्दा निक्कै बढी मतान्तरले जित निकाल्दा खरेल असफल रहे। घन्टीको रापताप बलियो हुँदा पनि उनी चौथो स्थानका लागि संघर्षरत रहे।

देशव्यापी रास्वपाको लहर चलिरहँदा बारा क्षेत्र नम्बर २ पूर्व डीआइजी खरेलको दबङ्ग पहिचान फितलो बन्न पुग्यो। घन्टी चिन्हका उम्मेदवार खरेल चौथो हुनु पछिल्लो परिवेशमा अनपेक्षित नै रह्यो। जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव २८ हजार ४१५ मत ल्याउँदै विजयी भए उक्त क्षेत्रमा।

दोस्रो बनेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत र नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। चौथो बनेका खरेलले २ हजार ८२९ मत मात्रै ल्याए।

प्रहरीमा नेतृत्व लिँदा बारामा रमेशको गजबको क्रेज थियो। निर्वाचनमा न उनको सेलिब्रटी छवि चल्यो। न त रास्वपा को लहर नै। कुनै समय प्रहरीमा ‘सिङ्गम’ छवी बनाएर चलचित्रको नायक झैं ‘आइकन’ भएका खरेललाई मतदाताले भने पत्याएनन्।

त्यसो त खनालले जस्तै दोस्रो निर्वाचनमा असफलता आफ्नो खातामा थपेका हुन् खरेलले। गत मंसिरमा काठमाडौं क्षेत्र नम्बर १ बाट खरेलले उम्मेदवारी दिएका थिए। सुशासन पार्टीबाट उम्मेदवार बनेका खरेलले त्यतिखेर ३ हजार १ सय २४ मत ल्याए। र, पाँचौं स्थान पाएका थिए। क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ७ हजार १४३ मल ल्याएर चौथो पटक संसद्मा इन्ट्री मारे।

गत असोजमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन जाने क्रममा रमेश खरेल (फाइल फोटो)।


बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पूर्व प्रहरी खरेल उम्मेदवार भए तर फरक पार्टीबाट। यस पटक भने उनले आफैँले जन्माएको पार्टीलाई लत्याए र राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी समाउन पुगे। रास्वपाको घन्टीको तरङ्ग नेपाली राजनीतिमा अप्रत्यासित रुपले बजेपछि उनी त्यसतर्फ तानिएका हुन्।

त्यसो त गएको मंसिरमा नै खरेलको पार्टी र रवि लामिछानेको रास्वपा मिलेर चुनावमा जाने छलफल नचलेको होइन। दुवै पार्टीले वार्ता समिति नै बनाएर काम गरेका थिए। स्वतन्त्र उम्मेदवार बनेका पुकार बम पनि खरेलजस्तै पछारिए काठमाडौं १ मा। यी दुवै अहिले रास्वपामा छन्।

उप निर्वाचनमा रमेशले रास्वपाबाट बारा क्षेत्र नम्बर २ मा टिकट हात पारे। जित चाहिँ उनीभन्दा झनै दुर भयो। प्रहरीको एसपी हुँदा तराईका जिल्लामा तस्करीदेखि अपराध नियन्त्रणमा अब्बल ठहरिएका उनलाई त्यहीँका जनताले सांसद भने बनाउन मानेनन्।

खनाल र खरेल दुवैको राजनीतिक इन्ट्रीले नेपाल प्रहरी संगठनका नेतृत्वमा पुग्नेहरु राजनीतिक दलका ‘गोटी’ बन्ने त्रास सबैमा थियो। दुवैको हारले तत्काल आगामी दिन अवकाशपछि राजनीतिमा जाने चाहना राख्नेलाई एकपटक सोच्न भने बाध्य बनाएको छ।

त्यसो त पूर्व प्रहरीको राजनीतिक मोह खनाल र खरेलबाट  सुरु भएको भने होइन। महानिरीक्षक नबाएको झोकमा राजीनामा दिएका पूर्व डीआइजी नवराज सिलवाल एमालेको टिकटबाट २०७४ को प्रतिनिधिसभामा विजयी भएर सांसद बने।

त्यसैले खरेल र खनाललाई पनि राजनीतिमा ‘तर’ मार्न सकिने आकांक्षा पलायो। तर, २०७९ मा सिलवाल, खरेल र खनालजस्तै असफल बन्न पुगे। धेरै पटको प्रयासमा २०७९ को निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी भएर अहिले सांसद बनेका छन्।

प्रधान पनि प्रहरी प्रमुख नै थिए। त्यसअघि ओलम्पिक कमिटीको अध्यक्षका रुपमा उनले खेलमार्फत् राजनीतिक पृष्ठभूमि तयार पारेका थिए। रुक्मशम्शेर जबरा र प्रधानबिच ओलम्पिक कमिटीको विवाद नेपाली खेलकुद क्षेत्रमा कालो कालका रुपमा लिइन्छ।

मिडिया फ्रेन्डली र आफ्नो कामलाई ‘भजाउन’ सक्ने खुवीका कारण खनाल र खरेल चुनावी ब्याटलमा पनि अब्बल ठहरिने अपेक्षामा थिए। तर, उनीहरुको त्यो पहिचानलाई मतदाताले जितमा रुपान्तरण गर्न चाहेनन्।

प्रहरी नेतृत्व र जनमत भनेको फरक हो भन्ने स्थापित गरिदिए। र, यसले हाललाई सुरक्षा निकायबाट अवकाश पाएसँगै राजनीतिक ‘लट्री’को अपेक्षा गर्नेहरुलाई पनि सवक सिकाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell