PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

वाग्मतीमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम : दुर्गममा नर्स टिकाउन प्रदेश सरकारलाई हम्मे



निशा गुरुङ

वाग्मतीमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम : दुर्गममा नर्स टिकाउन प्रदेश सरकारलाई हम्मे

हेटौंडा : गाउँ-गाउँमा स्वास्थ्य शिक्षा पुर्‍याउने उद्देश्यसहित वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम ल्यायो। त्यसयता ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमले निरन्तरता पाइरहेको छ।

प्रदेशका १३ वटै जिल्लामा छनौटमा परेका मावि तहका सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’को प्रभावकारिता भने प्रशंसायोग्य रहेको बताइन्छ। नर्सहरूले विद्यार्थीलाई ‘जंक फुड’ खान रोक लगाउनेदेखि प्रजनन् स्वास्थ्य, सरसफाइ र आधारभूत स्वास्थ्य क्षेत्रको विषयमा चेतना फैलाउँदा आमविद्यार्थीको जीवनशैलीमा परिवर्तन ल्याएको निष्कर्ष प्रदेशस्थित स्वास्थ्य मन्त्रालयको छ।

तर ‘विद्यालय नर्स’को प्रभावकारिता विकटमा नभइ सुगम क्षेत्रमा मात्रै सीमित रहेको पाइएको छ। प्रदेशका अधिकांश जिल्लाको विकट क्षेत्रमा ‘विद्यालय नर्स’ कार्यक्रम कार्यान्वयन गराउन स्वास्थ्य मन्त्रालयलाई चुनौती देखिएको छ।

तत्कालीन सामाजिक विकास मन्त्रालयबाट सञ्चालित विद्यालय नर्स कार्यक्रम हाल स्वास्थ्य मन्त्रालयले हेरिरहेको छ। प्रदेशमा सामाजिक मन्त्रालय विभाजन भएर स्वास्थ्य मन्त्रालय बनेपछि दायित्व सरेको हो।

विगतमा सामाजिक विकास मन्त्रालयले भोगेको विकट क्षेत्रका विद्यालयमा नर्स नटिक्ने चुनौती स्वास्थ्य मन्त्रालयसम्म पनि कायमै छ। आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका १ सय १९ स्थानीय तहमा एक जनाका दरले र थप एक गरी १ सय २० जना विद्यालय नर्स भर्ना भएका थिए। चालु आर्थिक वर्ष २०७९/८० मा आईपुग्दा ४ सय ५९ विद्यालयमा रहेका नर्स र थप ६० नयाँ विद्यालयमा नर्स भर्ना हुँदा ५ सय १९ वटा विद्यालयमा नर्स खटाएका छन्।

५ सय १९ जना विद्यालय नर्समध्ये ५० भन्दा बढी विकट क्षेत्रमा खटिएका थिए। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार विकटमा खटिएका ति विद्यालय नर्सहरु निश्चित समयसम्म टिक्न सकेनन्।

धादिङ, मकवानपुर, काभ्रे, चितवन, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, नुवाकोटका विकट क्षेत्रमा खटिएका विद्यालय नर्सहरू नटिकेको स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए। उनका अनुसार विद्यालय नर्सहरू छोटो समय विकट क्षेत्रमा गएर काम गरे पनि निश्चित समय भने टिक्न नसकेका हुन्।

‘मन्त्रालयले विकट क्षेत्रका विद्यालयमा काम गर्ने गरी नर्स छनौट गरेर खटाएको थियो। ५० जनाभन्दा बढी नर्सले केही समय काम गरेर राजीनामा दिएर हिँडेका छन्’, श्रेष्ठले भने, ‘सुगम क्षेत्रमा खटिएका नर्सहरू हालसम्म पनि काम गरिरहेका छन्। विकटमा खटिएकाहरू लामो समयसम्म नटिक्नाले समस्या ल्यायो।’

निर्देशक श्रेष्ठका अनुसार विदेशीने, बिहे गरेर अन्य जिल्लामा जाने र लोकसेवामा नाम निकालेपछि राजीनामा दिने कारणले कतिपय विद्यालयमा नर्सहरु नटिकेका हुन्।

श्रेष्ठले स्वास्थ्य मन्त्रालयले खटाएको ५ सय १९ वटा विद्यालयमध्ये हाल ३३ वटा विद्यालयमा राजीनामा कारण नर्सको पद रिक्त रहेको गुनासो राखे। उनले खाली रहेको उक्त ३३ वटा विद्यालयमा वैकल्पिकमा रहेका सूचीका अनुसार नर्स पठाउने तयारी गरिहेको जानकारी दिए।

निर्देशनालयका नर्सिङ शाखा अधिकृत रिता महतोका अनुसार हप्तैपच्छिे ४/५ जना नर्सहरुले राजीनामा दिने गरेका छन्। उनले विद्यालयमा नर्सहरुले राजीनामा दिने क्रमसँगै नयाँ पठाउने कार्य जारी राख्ने काम भइरहेको जनाइन्।

उनका अनुसार विकटमा नियमित ओहोरदोहोर गर्न र बसोबासका लागि अप्ठेरो हुनु र अस्थायी प्रकृतिको जागिर भएकाले नर्सहरू टिक्न नसकेको तर्क गरिन्। विकटमा नर्सहरू टिक्न नसक्नुको कारण सम्बन्धित विद्यालय व्यवस्थापनको कमजोरी पनि देखिएको छ।

मन्त्रालयका अनुसार विकटका अधिकांश विद्यालयले नर्सहरूलाई अंग्रेजी पढाउन लगाएको सूचना आएको थियो। विकटका विद्यालयमा शिक्षकसमेत नटिक्ने समस्याले गर्दा नर्सहरूलाई नै कक्षा लिन लगाउने गरेको पाइएको थियो। ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमको कार्यविधिले नर्सहरूलाई पढाउन लगाउने काममा प्रतिबन्ध गरेको निर्देशक श्रेष्ठले जानकारी दिए।

वाग्मतीमा १ हजार ५२२ मावि तहका विद्यालय छन्। जसमध्ये ४ सय ८६ नर्सहरु हाल विद्यालयमा कार्यरत छन् भने ३३ विद्यालयमा नर्सहरु पठाउने तयारी छ। ५ सय १९ विद्यालयमा नर्स खटाएपनि प्रदेशमा अझै १ हजार ३ वटा विद्यालयमा नर्स पुगेका छैनन्।

उक्त कार्यक्रम सुरु गरेका तत्कालीन सामाजिक विकासमन्त्री युवराज दुलालले दुर्गमका विद्यालयमा नर्सहरु नजानुमा विभिन्न कारणहरु रहेको बताउँछन्। उनले उक्त कार्यक्रम प्रभावकारी बनाउनका लागि अस्थायी नभई स्थायी दरबन्दी लाकसेवाबाट नै नियुक्ती गरेर पठाउनुपर्ने जानकारी दिए। उनले दुर्गमका विद्यालयमा नर्स टिकाउनका लागि दुर्गम क्षेत्रका विद्यालयमा खटेका नर्सहरुलाई थप स्रोत, साधन र भत्ताको व्यवस्था गरेर प्रोत्साहित गर्न सकेमा सबै विद्यालयमा नर्स टिक्न सक्ने बताए।

सम्बन्धित स्थानीय तहले विद्यालय छनौट गरेर सिफारिस गरेपछि मन्त्रालयले नर्स खटाउने गरेको छ। स्थानीय तहले नै नर्सको परिचालन र तलब, भत्ता उपलब्ध गराउँदै आएको छ।

उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालयले ३० करोड भन्दा बढी बजेट विनियोजन गरेको छ। नर्सहरूले विद्यार्थीहरूको समग्र स्वास्थ्य, सरसफाई, पोषण, मानसिक स्वास्थ्य, किशोरकिशोरीमा प्रजनन स्वास्थ्य प्रवर्द्धन तथा सरुवा र नसर्ने रोगबारे स्वस्थ जीवनयापनमा उत्प्रेरणा जगाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell