काठमाडौं : छातीमा 'इन्फेक्सन' देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अहिले भारतमा उपचार गराइरहेका छन्। दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा राष्ट्रपति पौडेलको उपचार भइरहेको छ।
अस्वस्थ भएपछि एक हप्ताअघि वैशाख ६ गते पौडेल एअर एम्बुलेन्समार्फत त्यसतर्फ लागेका हुन्। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको राष्ट्रपतिका निजी चिकित्सक डा निरज बमले जनाएका छन्।
भारत उपचारमा जाँदा आलोचना!
राष्ट्रपति हुनसाथ सवारी लश्कर त्यागेपछि चर्चा कमाएका पौडेललाई उपचारका लागि भारत जाँदा भने आलोचना भइरहेको छ। मंहगो शूल्क तिरेर एयर एम्बुलेन्समा भारत गएको र नेपालमा नै उपचार सम्भव हुँदा पनि विदेशमा उपचार गराएको भन्दै सामाजिक संजालमा पौडेलको आलोचना भइरहेको छ। यस्तै, राष्ट्रपतिसँगै भारतमा रहेका तीनजना कुरुवाहरुलाई पनि सरकारले भत्ता दिने र राजकोषको चरम दुरुपयोग हुने भन्दै आलोचना भइरहेको छ।
शीतल निवासको खण्डन
आलोचना बढ्दै गए पछि शीतल निवासले भने राष्ट्रपति पौडेललाई चिकित्सकको सल्लाहमा नै भारत लगिएको भन्दै बचाउ गरेको छ। त्रिवि शिक्षण अस्पतालमा तीनपल्ट भर्ना भएर उपचार गराउँदा पनि स्वास्थ्य अवस्था सहज नभएपछि राष्ट्रपतिलाई चिकित्सकको सुझावका आधारमा दिल्ली लगिएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।
पौडेललाई विदेशमा उपचार गर्न जान नमानेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई उद्धृत गर्दै शीतल निवासले खण्डन गरेको हो।गत बुधवार तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा प्रधानमन्त्री दाहालले भनेका थिए, ‘उहाँले त यहीँ उपचार गर्न पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो। हामीले पनि छलफल गर्यौं। राजनीतिबारे निर्णय त हामीले गर्ने हो तर उपचारबारे त डाक्टरले जे भन्छन् त्यही मान्ने हो भनेर मैले उहाँलाई भनेको थिएँ। डाक्टरहरूले भनेपछि मात्र उहाँ उपचारका लागि भारत जान मान्नुभएको थियो।’
शीतल निवासका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा अस्पतालमै पुगेर उनलाई उपचारका लागि भारत जान अनुरोध गरेका थिए। उनको उपचारमा संलग्न चिकित्सक टोलीका एक सदस्यले दिएको जानकारीअनुसार छातीको 'इन्फेक्सन'का कारण लगातार एन्टिबायोटिक चलाउँदा पनि ठिक नभएपछि भारत जान सुझाव दिइएको थियो। राष्ट्रपतिमा निर्वाचित हुनुअघि पनि पौडेलको भारतको सोही अस्पतालमा छातीको जाँच गराउँदै आएका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले अहिले राष्ट्रपतिको उपचारलाई लिएर प्रचार भएको जस्तो अवस्था नभएको बताए। उनले भने, ‘चिकित्सकको सुझावका आधारमा उहाँलाई उपचारका लागि दिल्ली लगिएको हो। बाहिर आएका अनर्गल प्रचारको पछि नलाग्न सबैसँग अनुरोध गर्दछु।’
राष्ट्रपति तथा उपराष्ट्रपति पारिश्रमिकसम्बन्धी ऐनमै पनि उपचारका लागि जाँदा भत्ताको व्यवस्था नभएको उनले बताए। त्यसमा परिवारको कुनै पनि दबाव नरहेको उनको भनाइ छ।
पोखरेलले भने, ‘उपचारका विषयमा अनर्गल प्रचार गरिएको छ। जनतालाई दिग्भ्रमित गर्ने काम दु:खद् छ। राष्ट्रपति पदलाई नागरिकमैत्री बनाउनुपर्छ भन्ने प्रमाणित गर्ने काम उहाँले थालिसक्नुभएको छ। लोकतन्त्रमा कुनै पनि विषयको रचनात्मक आलोचना गर्न पाइन्छ। तर दिग्भ्रमित गर्न पाइँदैन।’
के छ ऐनमा व्यवस्था?
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जानु पर्दाका लागि अलग अलग व्यवस्था छ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा उपचार खर्चसम्बन्धी व्यवस्था छ। त्यस्तै विदेश भ्रमण सम्बन्धी व्यवस्था दफा ११ मा उल्लेख छ। राष्ट्रपतिको उपचारमा तीन जनासम्म कुरुवा बस्न पाउने ऐनमा उल्लेख रहेको उल्लेख गर्दै शीतल निवासले आलोचनाको बचाउ गरेको हो।
दफा ९ को २ मा उल्लेख छ : राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भइ उपचार गराउँदा कुरुवा बस्नु पर्ने भएमा कुरुवा खर्च बापत तीनजनासम्मको मनासिब खर्च नेपाल सरकारले उपलब्ध गराउनेछ।
ऐनमा राष्ट्रपतिले दैनिक २५० अमेरिकी डलर भ्रमणभत्ता पाउने उल्लेख छ। तर, राष्ट्रपति अहिले भ्रमणमा नरहेकोले उपचार खर्चमात्र लिने र भ्रमण भत्ता नलिने शीतल निवासले जनाएको छ।