काठमाडौं : काठमाडौंको अधिकांश शहरी क्षेत्रमा अहिले सिसिक्यामरा राखिएका छन्। जसकारण त्यहाँ कुनै घटना भए सहजै पत्ता लगाउन सकिन्छ। धेरैले प्रहरीले गर्ने अनुसन्धानमा सिसि क्यामरालाई अनुसन्धानको माध्यमका रुपमा हरेका हुन्छन्। सिसिक्यामरा आफैँमा अपराधी समात्ने माध्यम त होइन तर पनि अभियुक्तसम्म पुग्ने साधन चाहिँ पक्कै बन्न सक्छ।
तर, काठमाडौंको कपनमा भएको घटनामा सिसिक्यामराको सहयोगमा पनि प्रहरीले अभियुक्त पहिचान गर्न सकेको छैन। सात दिनसम्म घटनाको गाँठो नफुक्दा आम मानिसले प्रहरीमाथि नै प्रश्न गर्न थालेका छन्। काठमाडौंकै व्यस्त मानिने कपनमा दिउँसै भएको घटनाको अभियुक्त पत्ता लगाउन पनि किन ढिला ? यस्तै यस्तै प्रश्न अहिले प्रहरी सामु गरिएका छन्।
कपनको घटना दिउँसो घटेको हो। त्यसैले कोही न कोहीले घटना भएको देख्ने सम्भावना धेरै हुन्छ। नभए पनि संदिग्ध व्यक्तिको पहिचान गर्न सकिन्छ। तर, यस्ता अनुसन्धानका सम्भावना पाटोहरू पनि बन्द हुँदा कपन घटना रहस्य बन्दै गएको छ। आम मानिस र पीडित परिवार अभियुक्त पक्राउ पर्ने आशामा बसेको छ। प्रहरी पनि दिनरात लगाएर अनुसन्धानमा खटिएको छ। तर, अभियुक्तसम्म दोहोर्याउने बलियो 'क्लू' भेटिएको छैन।
'अनुसन्धान यति दिनमा हुन्छ भन्ने त हुँदैन। हामीले हाम्रो सबै टीमलाई परिचालन गरेर अनुसन्धान गरिरहेका छौँ,' काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले भने।
गत बिहीबार दिउँसो कपनको सरस्वती नगरमा पसल चलाउँदै आएकी एक महिला मृत अवस्थामा भेटिएकी थिइन्। बागलुङको वडिगाढ गाउँपालिका घर भएकी ३५ वर्षीय निरा आचार्य पाण्डेको हत्या भएको प्रहरी अनुसन्धानमा खुल्यो। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा महाजगञ्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको थियो।
उनको शरीरमा धारिलो हतियारको प्रहार बाहिरबाट नै देख्न सकिन्थ्यो। भाँडाकुँडाको पसल गर्दै आएकी निरालाई खोज्दै नजिकैकी एक महिला दिउँसो करिब साढे ३ बजेतिर पसलमा पुगेकी थिइन। पसलमा नदेखिएपछि निराका श्रीमानलाई उनले फोन गरेर उनको बारेमा जानकारी लिएकी थिइन्। श्रीमानले निरा पसलमा नै भएको जानकारी दिएपछि पसलभित्र छिरेर हेर्दा भुईँमा निरालाई रगताम्मे भएर लडेको अवस्थामा पाएकी थिइन्। त्यसपछि प्रहरीलाई फोन गरेपछि प्रहरी प्रभाग कपनबाट घटनास्थलमा प्रहरी टोली पुगेको थियो। हत्या कति बजेतिर भएको भन्ने यकिन हुनसकेको छैन। तर, घटना साढे ३ बजे अगाडी भएको हुनसक्ने प्रहरीको अनुमान छ।
जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, वृत्त बौद्ध लगायतको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। तर अभियुक्तसम्म पुग्ने कुनै प्रमाण हात परेको छैन। ठ्याक्कै घटनास्थल नजिकै नभए पनि वरपरको सिसिक्यामराबाट प्रहरीले घटनालाई केलाइरहेको छ। यस्तै, मोबाइलको डाटा अनुसन्धान गरेर पनि प्रहरीले घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ। सिसिक्यामराको केही फुटेजमा घटना वरपरको समयमा देखिएका केही संदिग्ध व्यक्ति माथि अनुसन्धान पनि थालिएको छ।
घटनास्थलको प्रारम्भिक अनुसन्धान हेर्दा चोरी तथा लुटपाटको लागि घटना भएको देखिएको छ। घटना रिसिइबी तथा अन्य कारणले पनि हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको एसएसपी केसीले बताए।
'अहिले नै घटना किन भयो भन्ने अवस्था छैन। केही अनुसन्धानलाई फराकिलो बनाएर हेरिरहेका छौँ,' एसएसपी केसीले भने।
काठमाडौंमा लुटपाट तथा चोरीको लागि पनि हत्या हुने गरेका छन्। तर त्यस्ता घटना रातिको समयमा, एकान्त ठाउँमा बढी भएको देखिन्छ। तर कपन घटना दिउँसो र पसलभित्र नै छिरेर भएकाले थप रहस्यमय बनेको छ।
माघ २३ गते ध्रुव बहादुर खड्काको हत्या गरि फरार रहेका रामबहादुर थापालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो। घटना भएको तीन दिनपछि प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको थियो। थापाले खड्कालाई माघ २३ गते राति घिसार्दै भित्तामा ठोक्काई भुईँमा लडाएर अनुहारमा लात्ता र मुक्काले हानेर घाइते अवस्थामा छाडेका थिए। लुटपाट गरेर भागेपछि थापा पुनः सोही ठाउँमा आएका थिए। र, घाइते खड्कालाई पुनः दुवै खुट्टाले छातीमा उफ्रिएर हानेर हत्या गरेका थिए।
खड्काको शव माघ २४ गते बिहान काठमाडौं महानगरपालिका वडा ९ को रुद्रनगर शान्तीमार्ग स्थित सडकमा फेला परेको थियो। अनुसन्धानका क्रममा थापाले मृतक व्यक्तिलाई बत्तिसपुतलीबाट ट्याक्सीमा राखेर एकान्त ठाउँमा ल्याएर कुटपिट गरी मोबाइल र धनमाल लुटेको खुलेको थियो। त्यसपछि फेरि आएर थापाले खड्कामाथि हातपात गरी हत्या गरेको सिसिटीभी फुटेजबाट देखिन आएको थियो। घटना लुटपाटको लागि भएको अनुसन्धानमा खुलेको थियो।
निरा हत्या प्रकरणमा पनि प्रहरीले काठमाडौं क्षेत्रमा लुटपाट, चोरी गर्ने समूहलाई टार्गेट बनाएर पनि अनुसन्धान भने गरिरहेको छ।
आर्थिक वर्ष २०७७/७८ मा काठमाडौं उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुरमा ४६ जनाको हत्या भएको थियो। जसमा सबैभन्दा धेरै काठमाडौं जिल्लामा भएको तथ्याङ्कले देखाउँछ। काठमाडौँमा ३२ जना, ललितपुरमा ६ जना र भक्तपुरमा ८ जनाको हत्या भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा भने ३४ जनाको मात्र हत्या भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा ५३ जनाको ज्यान लिएको देखिन्छ।हत्या सम्बन्धि धेरै घटना चिनेजानेका मानिसबाट नै भएको समेत खुल्ने गरेको छ।