काठमाडौं : कपनमा भएको निरा पाण्डे हत्या प्रकरणबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ। काठमाडौंमै दिउँसै व्यस्त ठाउँमा भएको हत्या प्रकरणमा सात दिनसम्म प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेको भन्दै प्रश्न गरिएको हो।
नेपाली कांग्रेसका सांसद गगन थापाले चाँडो भन्दा चाँडो हत्यारा पत्ता लगाउन माग गरेका छन्। दिनदहाडै भएको घटनाले वरपरका मानिस समेत आत्तिएको सांसद थापाले बताएका छन्। त्यस्तै, प्रहरी प्रशासन प्रति विश्वास गर्ने वातावरण बनाउन पनि उनले गृहमन्त्रीलाई आग्रह गरेका थिए।
'दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँ नागरिकहरुले विश्वास गर्न नसक्ने जुन अवस्था बनेको छ यसको बारेमा विश्वास दिलाउन सक्ने स्थिति गृहमन्त्री ज्युले बनाइदिनु होस्,' सांसद थापाले भने।
गत बिहीबार (बैशाख ७ गते) दिउँसो कपनको सरस्वती नगरमा पसल चलाउँदै आएकी बागलुङको वडिगाढ गाउँपालिका घर भएकी ३५ वर्षीय निरा आचार्य पाण्डेको हत्या भएको थियो। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा महाजगञ्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको थियो।