PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

एमालेविरुद्धको घेराबन्दी तोड्न भन्दै ओलीले भने : साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ



पहिलोपोस्ट

एमालेविरुद्धको घेराबन्दी तोड्न भन्दै ओलीले भने : साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन्। बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरेका छन्।

एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनले बताए।

'खेतको होस् या बारीको पाटो, शहर, गाउँबस्ती, देशविदेश सबै क्षेत्रमा एमाले पुगेको छ', ओलीले भने।

उनले पार्टीका नेतृत्व र कार्यकर्ताभित्र भएका असन्तुष्टिलाई पार्टीभित्रै छलफल र संवाद गरेर समाधान गर्न आग्रह पनि गरेका छन्।

'साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ', उनले भने,'यसले पार्टीलाई कमजोर बनाउँछ। देश बनाउने अभियान हाम्रो काँधमा छ। विकास, सुशासन र राष्ट्रिय एकताको अभियानमा जुटौँ, पार्टीलाई बलियो बनाऔँ।'

उनले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्‍याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुटमार्फत तीब्र बनाउन सबै कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell