काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन्। पहिलो हाफ सुस्त रहेको खेलको दोस्रो हाफ केही प्रतिस्पर्धात्मक बने पनि गोल भने हुन सकेन।
खेलको सुरुमै अफिज ओलावालेको पासमा चेन्चो ग्याल्नेनले गरेको प्रहार गोलपोष्टमा ठोक्किएर रिबाउन्ड भएको थियो। ६८ औँ मिनेटमा थ्रीस्टारले गरेको गोलमा रेफ्रीले अफसाइड करार दिए। लगत्तै मछिन्द्रका ओलावाले अफीजको प्रहार थ्री स्टारका गोलकिपरले बचाएका थिए। ८४ औँ मिनेटमा चेन्चो ग्याल्चेनले फ्रिकिकमा गरेको प्रहार थ्रीस्टारका गोलकिपरले बचाएका थिए। इन्ज्युरी समयमा मछिन्द्रले दबाब बढाउँदै केही राम्रा प्रहार गरे पनि गोल भने गर्न सकेन।
खेलपछि मछिन्द्र क्लबका प्रशिक्षक किशोर कुमार केसीले तीन अंकको लागि आए पनि एक अंकमै चित्त बुझाउनु परेको बताए।
'तीन अंकको लागि उत्रिएको हौँ। फ्रेममा टार्गेट नहुँदा अंक ल्याउन सकिएन,' केसीले भने, 'माथिल्लो स्तरको फुटबल खेल्न दर्शक चाहिन्छ। थ्रीस्टार मछिन्द्र जस्तो क्लब खेलेको छ, दर्शक छैन। यसले खेलको उर्जा कम भएको जस्तो लाग्छ।'
उनले अगाडि भने : दर्शक क्लबले नै तान्नु पर्ने हो। क्लबले पनि नसकेकै हो।
त्यस्तै थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले एक अंकमा सन्तुष्ट भएको बताए।
'गेम टफ थियो। लिगको अवस्थामा दुबैमाथि गएर पोजिसन ल्याउन सक्ने थियो। हामीले ३ प्वाइन्ट ल्याउने भइसकेको थियो। तर, मिलेन,' उनले भने, 'पाएको अवसरलाई ग्राभ गर्न सकिएन।'
शीर्षस्थानको होडमा रहेको थ्री स्टारलाई बराबरीले धक्का भने दिएको छ। तर, यो स्वीकार्न प्रशिक्षक केसी तयार छैनन्।
'अहिले टपअफदी टेबलले धेरै अर्थ लाग्दैन। नगुमाउनु पनि कमाइ मान्नु पर्यो,' उनले भने, 'हामीले पहिला जुन स्टान्डर्डको गेम थियो त्यो सायदै देखिएला। खेलको स्टान्डर्ड बनाउनु पर्छ।'
योसँगै थ्री स्टार २२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम छ भने मछिन्द्रले छैटौँ स्थानमा एपीएफसँग बराबरी गरेको छ।