इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर पराजित भएको छ। बेङ्ग्लोरस्थित चिन्नस्वामी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली २१ रनले पराजित भएको हो।
सुरुवाती ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर ८ विकेट गुमाएर १७९ रनमा समेटियो।
कोलकत्ताका लागि जेसन रोयले सर्वाधिक ५६ रन बनाउँदा कप्तान नितिश रानाले ४८ रन बनाए। त्यस्तै वेङकटेश ऐयरले ३१ रन बनाउँदा नारायन जगदीशनले २७ रन बनाए। बलिङतर्फ बेङ्ग्लोरका वानिन्दु हसरंगा र विजयकुमारले समान २ विकेट लिँदा मोहम्मद सिराजले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरका लागि ओपनर विराट कोहली र फाफ डुप्लिसिसले ३१ रनको साझेदारी गर्दै ठीकठाक सुरुवात गरेपनि त्यसपछि ब्याटिङ जम्न सकेन। कोहलीले सर्वाधिक ५४ रन बनाउँदा महीपाल लोमोरले ३४, दिनेश कार्तिकले २२ तथा फाफ डुप्लिसिसले १७ रन बनाए। बेङ्ग्लोरलाई लक्ष्यसम्म पुग्न नदिन वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिँदा सुयस शर्मा र आन्द्रे रसेलले समान २ विकेट लिए।
जितसँगै लगातार ४ खेलमा हार ब्यहोरेको कोलकत्तालाई राहत मिलेको छ। ८ खेलबाट ३ जित निकाल्दै ६ अंक जोडेको कोलकत्ता तालिकाको सातौँ स्थानमा छ। समान खेलबाट ८ अंक जोडेको बेङ्ग्लोर हारका वावजुत पाँचौँ स्थानमा छ।