इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले आर्सनलमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो।
खेलको ७ औँ मिनेटमा केभिन डी ब्रुइनाको गोलमा सिटीले अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा जेन स्टोन्सले ब्रुइनाको पासमा गोल थप्दा पहिलो हाफमा सिटी २-० गोलले अघि रह्यो। दोस्रो हाफमा डी ब्रुइनाले फेरि गोल थपे। उनले खेलको ५४ औँ मिनेटमा तेस्रो गोल गरे। उनले गरेको दुबै गोलमा अर्लिङ हल्याण्ड एसिस्ट गरेका थिए। सिटीका लागि चौथो गोल इन्ज्युरी समयमा हल्याण्डले फिल फोडेनको पासमा गरेका थिए। अर्कोतर्फ आर्सनलका लागि ८६ औँ मिनेटमा रब होल्डिङ्सले सान्त्वना गोल फर्काए।
गएराति नै सम्पन्न अर्को खेलमा चेल्सी ब्रेन्टफोर्डसँग पराजित भयो। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली ब्रेन्टफोर्डसँग २-० गोलअन्तरले पराजित भएको हो। चेल्सीको यो लगातार पाँचौँ हार हो।
ब्रेन्टफोर्डले ३७ औँ मिनेटमा सिजर एजपिलिकुएटाको आत्मघाती गोलको सहायतामा अग्रता बनाएको थियो। ७८ औँ मिनेटमा ब्रयन एमबेउमोको गोलमा अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे।
योसँगै ३३ खेलबाट ७५ अंक जोडेको आर्सनल तालिकाको शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको सिटीको ३१ खेलबाट ७३ अंक जोडेको हो। खराब लयमा रहेको चेल्सी भने ३९ अंक जोडेर तालिकाको ११ औँ स्थानमा छ।