काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पूर्व लडाकुका नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्। बिहीवार नेता कोइरालाले विगतमासमेत बाँडेको पैसाको कुनै हिसाबकिताब नगरिएकाले माओवादी नेतृत्वको सरकारले यस्तो गर्नु ठीक नहुने धारणा राखेका हुन्।
कोइरालाले यस्तो कार्य तत्काल रोकिनुपर्ने र भविष्यका लागि सोच्नुपर्नेसमेत बताएका छन्। 'विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्र्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन,' कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, 'माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं।'
अयोग्य लडाकुलाई पैसाको साटो रोजगारी दिँदा राम्रो हुने सुझावसमेत उनको रहेको छ। 'उनीहरुलाई पैसा होइन रोजगारी दिउँ,' कोइरालाले भनेका छन्।