PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

क्यान्डीक्रस बनाउने अमेरिकी भिडियो गेम कम्पनी किन्न माइक्रोसफ्टले गरेको ६८अर्ब डलरको ‘डिल’ रोकियो



पहिलोपोस्ट

क्यान्डीक्रस बनाउने अमेरिकी भिडियो गेम कम्पनी किन्न माइक्रोसफ्टले गरेको ६८अर्ब डलरको ‘डिल’ रोकियो

काठमाडौं : अमेरिकी भिडियो गेम कम्पनी एक्टिभिजन ब्लिजार्ड किन्न माइक्रोसफ्टले गरेको ६८.७ अर्ब डलरको ‘डिल’लाई बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरणले रोकेको छ।

प्रस्तावित अधिग्रहणले माइक्रोसफ्टले कल अफ ड्युटी र क्यान्डी क्रस जस्ता हिट गेमहरु प्राप्त गर्ने थियो। तर नियामकले यो सम्झौताले कम नवीनता र छिटो-बढ्दो क्लाउड गेमिङ व्यवसायमा गेमरहरूको लागि कम विकल्प प्रदान गर्ने चिन्ता व्यक्त गर्दै यस ‘डिल’लाई रोकेका जनाएको छ।

माइक्रोसफ्ट र एक्टिभिजनले यस निर्णयको विरोध गर्दै उक्त निर्णयविरुद्ध अदालतमा अपील गर्ने बताएका छन्।

‘सीएमएको प्रतिवेदन युकेको टेक्नोलोजी व्यवसायहरू निर्माण गर्नको लागि आकर्षक देश बन्ने महत्वाकांक्षा विपरित छ’, एक्टिभिजनका प्रवक्ताले भने, ‘यसले बेलायत व्यवसायका लागि स्पष्ट रूपमा बन्द छ भन्ने बुझिन्छ।’

यस निर्णयलाई उल्टाउन आफूहरु माइक्रोसफ्टसँग मिलेर आक्रामक रूपमा काम गर्ने एक्टिभिजनका प्रवक्ताले बताए। उक्त निकायले निकालेको सो रिपोर्टको निष्कर्ष बेलायतका नागरिकहरूका लागि अपमानजनक रहेको पनि एक्टिभिजनका प्रवक्ताको भनाइ छ।

‘हामी बेलायतको लागि हाम्रो विकास योजनाहरूको पुन: मूल्यांकन गर्नेछौं’, एक्टिभिजनका प्रवक्ताले भने, ‘ठूला र साना विश्वव्यापी आविष्कारकहरूले यसप्रति ध्यान दिनेछन्। यूके स्पष्ट रूपमा व्यापारको लागि बन्द छ।’

माइक्रोसफ्टका उपाध्यक्ष र अध्यक्ष ब्राड स्मिथले कम्पनी अझै पनि अधिग्रहण गर्न प्रतिबद्ध रहेको बताइरहेका छन्।

‘सीएमएको उक्त निर्णयले प्रतिस्पर्धाको चिन्तालाई सम्बोधन गर्ने व्यवहारिक मार्गलाई अस्वीकार गर्दछ र युकेमा प्रविधिको आविष्कार र लगानीलाई निरुत्साहित गर्दछ,’ उनले भने।

माइक्रोसफ्टले पहिले नै एक्टिभिजन ब्लिजार्डका गेमहरू १५ करोड थप उपकरणहरूमा उपलब्ध गराउन सम्झौताहरू हस्ताक्षर गरिसकेको ब्राड स्मिथले बताए।

‘यस निर्णयप्रति हामी असाध्यै निराश छौं। यत्रो लामो छलफलपछि यो निर्णयले यस बजारको त्रुटिपूर्ण बुझाइ र सान्दर्भिक क्लाउड टेक्नोलोजीले काम गर्ने तरिकालाई प्रतिबिम्बित गरेको देखिन्छ,’ ब्राड स्मिथले भने।

यो सम्झौतालाई पारित गर्न बेलायत, अमेरिका र युरोपेली संघका नियामक निकायहरूले अनुमोदन गर्नुपर्ने हुन्छ। सीएमए तीन नियामकहरूमध्ये पहिलो हो। यसको निर्णयले सम्पूर्ण अधिग्रहणलाई भंग गर्न सक्छ। बेलायती निकायले यो सम्झौताले कन्सोल गेमिङ बजारमा प्रतिस्पर्धालाई बिगार्ने कुरामा चिन्तित नभएको बताएको छ।

तर नियामकको प्रस्तावको अनुसन्धान गर्ने स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने मार्टिन कोलम्यानले क्लाउड गेमिङको उदीयमान र रोमाञ्चक बजारमा प्रतिस्पर्धालाई जोगाउन यो महत्त्वपूर्ण भएको बताएका छन्।

ठूलो वित्तीय लगानीको साथसाथै यो सम्झौता माइक्रोसफ्टको लागि महत्त्वपूर्ण छ। किनभने माइक्रोसफ्ट भविष्यको गेमिङ बजारमा आफ्नो स्थिति बलियो बनाउन चाहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell