PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चुनावी हारपछि कांग्रेसका दुई महामन्त्रीको एकै स्वर : समय बदलिएछ, रुपान्तरणको बेला आइसक्यो



पहिलोपोस्ट

चुनावी हारपछि कांग्रेसका दुई महामन्त्रीको एकै स्वर : समय बदलिएछ, रुपान्तरणको बेला आइसक्यो

काठमाडौं : यसपटकको उपचुनावमा कांग्रेसले आफ्नो उम्मेदवार रहेको क्षेत्रमा दुई महामन्त्रीलाई खटायो। तनहुँ १ र चितवन २ मा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा आलोपालो गरी चुनावी सभामा सम्बोधन गर्न पुगे। तनहुँ १ कांग्रेसको गढ मानिन्थ्यो किनकि यहाँबाट राष्ट्रपतिमा निर्वाचन रामचन्द्र पौडेल निर्वाचित भएका थिए। त्यसैले यहाँ कांग्रेसले आफ्नो प्रतिष्ठा जोगाउन टाउको टेकेर चुनावमा लाग्यो।

यता चितवन भने कांग्रेसले आशा मारेको थियो। यद्यपि यहाँका स्थानीयलाई टिकेट दिएर गठबन्धन गरी निर्वाचन लड्दै गर्दा केही आशा गर्ने ठाउँ थियो। दुबै क्षेत्रमा खटेका महामन्त्रीद्ववले कार्यकर्तामाझ आफ्नो उम्मेदवारलाई जिताउन आग्रह गरे। तनहुँ पुग्दा एन्टी स्पिचमा उत्रेका थापा चितवन पुग्दा भने भगवान भरोसामा पुगेका थिए। चुनावी मैदानमा आक्रोशमा उत्रिएका दुबै महामन्त्रीले चुनावी नतिजापछि कांग्रेसले इमान्दार भएर आत्मसमीक्षा गर्ने घडी आएको बताएका छन्।

'अहिले नेपाली कांग्रेसको सबै तहमा आवद्ध सम्पूर्ण नेता तथा सदस्य साथीहरूले यो मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै हाम्रो पार्टीको सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी हो,' बुधवारमात्र सामाजिक सञ्जालमा लामो वक्तव्य राख्दै महामन्त्री थापाले भनेका छन्, 'पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले, सौम्यता र धैर्यतापूर्वक सवैको कुरा सुनौं, मनन गरौं अनि आफैतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं।'

थापाले आफ्नो पक्षबाट भएका कमजोरीको आत्मनिरीक्षण गरिरहेकोसमेत बताए। 'निश्चय नै पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहना अनुरुप अपेक्षित परिणाम आइ सकेको छैन। प्रयत्न गरे पनि परिणाम नदेखिएको गुनासो गर्दै आगामी दिनमा थप सार्थक प्रयत्न गरेर परिमाणमुखी भूमिका निर्वाह गर्न नेपाली जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई मैले गम्भीरतापूर्वक आत्मसात गरेको छु,' गगनले भनेका छन्, 'आम जनता र पार्टीका साथीहरुको गुनासो, सुझाव र खबरदारीले मलाई सदा झै ठूलो उर्जा, प्रेरणा र आत्मबल दिएको छ। आम अपेक्षा अनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिन की भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु।'

थापाले अब नेताहरुलाई थप अलमलिने छुट नभएको बताएका छन्। 'पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ। हामीलाई अलमलिने न छुट छ न त समय नै। यही समर्पित र संगठित प्रयत्नले परिणाम पनि उत्साहजनक बनाउने ठाँउमा हामी छिट्टै नै अवश्य पुग्नेछौं भन्ने मलाई दृढ विश्वास छ,' उनले थप भनेका छन्,  'पार्टीलाई रूपान्तरण गरी जनचाहना अनुसार अझै लोकतान्त्रिक,प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछौं। र, जननायक बीपी कोइरालाको परिकल्पना अनुरुपको 'समुन्नत नेपाल सम्मानित नेपाली' को हाम्रो संकल्प पूरा गर्नेछौं।'

यता अर्का महामन्त्री शर्माले चुनावी परणामले बदलिएको समय अनुरुप आफूलाई बदल्नुपर्ने समय आएको बताए। 'परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ। देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ। नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी। आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ,' महामन्त्री शर्माले ट्वीटरमा भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell